सुनसरी / छैटौं बेलबारी अन्तराष्ट्रीय आमन्त्रण गोल्डकपको उपाधी ललितपुरे टोली  ब्रिग्रेड ब्वाइज क्लबले उचालेको छ । 


झापाको बिर्तामोड युनाइटेडलाई ट्राइबेकर ५-३ गोल अन्तरले पन्छाउदै उपाधीमा ब्रिग्रेडले कब्जा जमाएको हो ।  ब्रिग्रेडले उपाधी संगै ८ लाख नगद र  ट्रफी प्राप्त गर्दा बिर्तामोडले ५ लाख र ट्रफिमा चित्त बुझाएको हो ।


बिजेतालाई खेलकुद मन्त्री डिग बहादुर लिम्बुले पुरस्कार प्रदान गरे । निशान तामाङ ट्राइबेकरमा चुक्दा बिर्तामोड उपाधी बाट बिमुख भएको हो । खेल सुरु भएको २ मिनेटमै बिर्तामोडले गोल गर्दै अग्रता कायम गरेको थियो । अभिषेक गुरुङले गोल गरे । ब्रिग्रेडका डिफेन्सले गरेको गल्तीको फाइदा उठाउदै उनले गोल गरे । 


३१ औं मिनेटमा ब्रिग्रेड खेलमा फर्कियो ।  दिपेश आलेले गोल गर्दै  बराबरीमा ल्याए । बिर्तामोडका डिफेन्स अघि बडेको अबस्थामा कसैको नजरमा नपरेका दिपेशले डि एरिया नजिक बाट प्रहार गरेको बलले जाली चुम्यो । दुबै टिमले निक्कै आक्रमक खेल खेले पनि थप गोल हुन नसक्दा खेल ट्राइबेकर तर्फ धकेलियो ।


बिधागत तर्फ पनि ब्रिग्रेडले कब्जा जमायो ।  खेलको म्यान अफ द म्याच बिर्तामोडका अभिषेक गुरुङ घोषित भए  । उत्कृष्ट खेलाडिमा  ब्रिग्रेडका जय गुरुङ, उत्कृष्ट गोल किपर विशाल सुनार र डिफेन्स पदम भट्टराई र हाइ स्कोरर दिपेश आले पुरस्कृत हुदा उत्कृष्ट फरवर्ड बिर्तामोडका आशिष चापागाईं घोषित भए । 


उदयमान खेलाडी आयोजकका दुर्गा राई घोषित भए । कोशी प्रदेशमा नियमित हुने बेलबारी गोल्डकपमा नेपाल र भारतका ८ टोली सहभागी थिए । असोज २८ बाट गोल्डकप सुरु भएको थियो ।