सुनसरी / बडादसैँको आज नवौं तथा अन्तिम दिन, दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइँदै छ । घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ ।
महानवमीका अवसरमा आज दसैँघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ ।
शाकाहारीहरूले भने कुभिन्डो, घिरौंला र मूलालगायतको बलि दिएर नरिवल चढाउँछन् । पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।
आज कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ । महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जंगी निशानपूजा तथा कोतपूजा गर्ने चलन छ ।
नवौं दिन दुर्गा माताको नवौं शक्ति स्वरूपा माता सिद्धिदात्रीको विशेष पूजा अनुष्ठान गरी मनाइन्छ । नवमीमा धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो । सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको हो ।
नवरात्रिका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।


