सुनसरी / विजयदशमीको दोस्रो दिन टीका लगाउन जानेको इटहरीमा चहलपहल देखिएको छ । गत सालको भन्दा मानिसहरूको सङ्ख्या कम देखिएको छ । सवारीसाधनमा भने मानिसको भिडभाड कमै मात्रमा रहेको थियोे ।
दुर्गापक्षको दोस्रो दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएसँगै घरबाहिरका मान्यजनका टीका एवं आशीर्वाद थाप्न हिँड्नेको चहलपहल सुरु भएको छ ।
दसैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइएको हो । घरमा मान्यजनबाट टीका र जमरा ग्रहण गरी मामाघर, ससुरालीलगायत आफन्तकहाँ जानेका कारण चहलपहल बढेको हो ।
आज दिउँसोपछि सुनसरीका धरान , इटहरी , इनरुवा , दुहबी लगाएत बजारमा हिजो भन्दा आज धेरै चहलपहल देखिएको छ । आज धेरैले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतमा टीका लगाएका थिए । आजदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाइन्छ ।
आज टीका प्रसाद ग्रहण गर्न समितिले बिहान ११ स् ०२ बजेको साइत निकालेको थियो । साइतमै टीका लगाउँदा देवीको विशेष शक्ति प्राप्त हुन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइँदै छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।


