इटहरी / इटहरीको तायारिप्ची भवनमा यही कात्तिक १७ र १८ गते नाटक ‘शत्रु’ प्रदर्शन हुने भएको छ । विश्वेश्वरप्रसाद कोइरालाको कथा ‘शत्रु’लाई नाट्य रूपान्तरण गरी ‘रिहर्सल’ भइरहेको छ ।

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजना तथा कलालय इटहरीको सहकार्यमा दुई दिन नाटक प्रस्तुत गर्नेगरी तयारी सम्पन्न भएको छ । दुई दिन (कात्तिक १७ र १८ गते) दिनको ३ बजे नाटक प्रस्तुत हुने नाट्यकर्मी प्रजल दुलालले बताए ।

यस्तै, कात्तिक १९ गतेदेखि २१ गतेसम्म ‘दोस्रो अन्तरदेशीय साझा रंगमञ्च २०८०’ आयोजना हुनेगरी तयारी पूरा गरिएको कलालय इटहरीले जनाएको छ ।                                                   कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीकाअनुसार नाटक महोत्सवमा नेपाल र भारतका रंगकर्मीहरूले नाटक प्रस्तुत गर्नेछन् । कात्तिक १९ गते साँझ ४ बजे ‘कृष्नगर जीवोनेर एकतान पश्चिम बंगाल, भारत’ नाट्य समूहले नाटक ‘एक्टु आगुन दे’ प्रस्तुत गर्नेछ । उक्त नाटक सुभ्रा रोयले निर्देशन गरेका छन् ।

यस्तै, कात्तिक २० गते बिहान ९ बजे ‘कदम थियटर, दमक’ नाट्य समूहले ‘जयमाया आँफू मात्रै लिखापानी आईपुगी’ नाटक प्रस्तुत गर्नेछ । उक्त नाटक जीवन बरालले निर्देशन गरेका छन् । सोही दिन साँझ ४ बजे ‘आरोहण गुरुकुल, विराटनगर’ नाट्य समूहले नाटक ‘नेता जी’ प्रस्तुत गर्नेछ । उक्त नाटक भरत कार्कीले निर्देशन गरेका हुन् ।

यस्तै, कात्तिक २१ गते बिहान ९ बजे र साँझ ४ बजे ‘कलालय इटहरी’ले नाटक ‘शत्रु’ प्रस्तुत गर्नेछ । उक्त नाटक भने प्रज्वल पराजुलीले निर्देशन गरेका छन् ।

यसअघि कलालयकै आयोजनामा कोभिड १९ को संक्रमणअघि पहिलो पटक अन्तरदेशीय नाटक महोत्सवको आयोजना गरिएको थियो । त्यसबेला पनि नेपाल र भारतका एक–एक नाटक मञ्चन गरिएको थियो ।

प्रत्येक बर्ष नाटक मञ्चन गर्ने योजना रहेपनि कोभिडको संक्रमणका कारण लामो समय कार्यक्रम आयोजना गर्न नसकिएको अध्यक्ष जयन्तीको भनाइ छ ।

‘अघिल्लो दुई दिन कर्मचारी युनियनसँगको सहकार्य र पछिल्ला तीन दिन भारतको समेत सहभागीमा नाटक प्रस्तुत गर्न लागिएको हो,’ जयन्तीले भने, ‘इटहरीमा नाटक क्षेत्रको विकासका निम्ति निरन्तर अभ्यास गरिरहँदा यो दोस्रोपटक अन्तराष्ट्रिय नाटक महोत्सव गर्न लागिएको हो ।’