सुनसरी / तेह्रथुमको छथर गाउँपालिकाले कोदोको लोकल रक्सीलाई कानून निर्माण गरेर ब्राण्डिङ गर्ने भएको छ । घरेलु मदिरा प्रतिबन्ध लगाउनुभन्दा पनि मापदण्ड अनुसार कानुन निर्माण गरेर बजारीकरणका लागि ब्राण्डिङ गर्ने तयारी गरेको गाँउपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । स्थानीय स्तरमा उपलब्ध कोदोको लोकल रक्सीको उत्पादन, स्तरीकरण, ब्राण्डिङ र बजारीकरणका लागि कानुन निर्माण भइरहेको अध्यक्ष लिम्बूले जानकारी दिए ।
गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक नीति कार्यक्रममै घरेलु मदिरा ‘कोदोको लोकल रक्सी’ ब्राण्डिङ गर्ने कार्यक्रम अघि सारेको समेत उनले बताए । ‘परम्परा र संस्कृतिसँग जोडिएका कुराहरु पनि छन्, यसैलाई कानुनी प्रक्रिया पूरा गरेर कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने योजना बनाएका छौं’ अध्यक्ष लिम्बूले भने ‘व्यवस्थित तरिकाले कसरी बनाउन सकिन्छ भन्ने विज्ञहरुसँग सल्लाह भइरहेको छ ।’ लोकल रक्सीको जिल्लाबाहिर बिक्री वितरणका लागि कानुनी अफ्ठ्याराहरु फुकाउन प्रदेश र केन्द्र सरकारसँग समन्वय भइरहेको समेत अध्यक्ष लिम्बूले जनाएका छन् । प्रायजसो मतुवाली समुदायले दैनिकरुपमा खाजाकैरुपमा प्रयोग गर्ने यस्तो मदिरालाई सरकारले कारोबार गर्नबाट भने बन्चित गरेको छ ।
गाउँघरमा उत्पादित मदिराको कारोबार गरेको थाहा पाए प्रहरीले नष्टमात्रै गर्दैन, त्यस्तो कारोबार गर्नेलाई कानूनी कारबाहीसमेत गर्छ । जसकारण कतिपय स्थानीय सरकारहरुले समेत त्यही व्यवस्थाबमोजिम घरेलु मदिरा (जाँड र रक्सी) को प्रयोगलाई निषेध नै गर्नेसम्मको अभ्यास गरिरहेका छन् । गाउँपालिकाले कोदोको लोकल रक्सीको बजारीकरणका लागि कानून निर्माण गरेर ब्राण्डिङ गर्ने तयारी थालेको हो । गाउँपालिका अध्यक्ष सन्तविर लिम्बूले स्थानीय स्तरमा उपलब्ध कोदोको लोकल रक्सीको उत्पादन, स्तरीकरण, ब्राण्डिङ र बजारीकरणका लागि कानुन निर्माण गर्न छलफल गरिरहेको बताए । 


