सुनसरी / इटहरीको तायारिप्ची भवनमा आजदेखि नाटक ‘शत्रु’ प्रदर्शन हुने भएको छ । विश्वेश्वरप्रसाद कोइरालाको कथा ‘शत्रु’लाई नाट्य रूपान्तरण गरी ‘रिहर्सल’ भइरहेको छ ।

आज बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिदै एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजना तथा कलालय इटहरीको सहकार्यमा आजदेखि  नाटक प्रस्तुत गरीने भएको कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए । दुई दिन सम्म चल्ने नाटक दिनको ३ बजे नाटक प्रस्तुत हुने भएको छ ।

कात्तिक १९ गतेदेखि २१ गतेसम्म ‘दोस्रो अन्तरदेशीय साझा रंगमञ्च २०८०’ आयोजना हुनेगरी तयारी पूरा गरिएको आयोजकले जनाएको छ ।

नाटक महोत्सवमा नेपाल र भारतका रंगकर्मीहरूले नाटक प्रस्तुत गर्ने भएका छन् । कात्तिक १९ गते साँझ ४ बजे ‘कृष्नगर जीवोनेर एकतान पश्चिम बंगाल, भारत’ नाट्य समूहले नाटक ‘एक्टु आगुन दे’ प्रस्तुत गर्नेछ । उक्त नाटक सुभ्रा रोयले निर्देशन गरेका छन् ।

यस्तै, कात्तिक २० गते बिहान ९ बजे ‘कदम थियटर, दमक’ नाट्य समूहले ‘जयमाया आँफू मात्रै लिखापानी आईपुगी’ नाटक प्रस्तुत गर्नेछ । उक्त नाटक जीवन बरालले निर्देशन गरेका छन् । सोही दिन साँझ ४ बजे ‘आरोहण गुरुकुल, विराटनगर’ नाट्य समूहले नाटक ‘नेता जी’ प्रस्तुत गर्नेछ । उक्त नाटक भरत कार्कीले निर्देशन गरेका हुन् ।

यस्तै, कात्तिक २१ गते बिहान ९ बजे र साँझ ४ बजे ‘कलालय इटहरी’ले नाटक ‘शत्रु’ प्रस्तुत गर्नेछ । उक्त नाटक भने प्रज्वल पराजुलीले निर्देशन गर्ने भएका छन् । इटहरीमा नाटक क्षेत्रको विकासका निम्ति निरन्तर अभ्यास गरिरहँदा यो दोस्रोपटक अन्तराष्ट्रिय नाटक महोत्सव गर्न लागिएको कलालयका अध्यक्ष सोनु जयन्तीले बताए ।