भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई नगद सहयोग गर्ने भएको छ ।
आइतबार बिहान बसेको कार्यपालिका बैठकले दुई लाख सहयोग गर्ने निर्णय गरेको हो । गाउँपालिकाको विपद् व्यावस्थापन कोषबाट रु.दुई लाख सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । भूकम्पले क्षति पुगेको दुःखद् घडिमा त्यहाँका नागरिकलाई गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत भट्टराईले बताए ।
दुई जिल्लामा भूकम्पबाट मानवियसँगै ठुलो धनजनको क्षति भएकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । भूकम्पको विपत्तिमा दुई लाख खास ठुलो रकम नभएपनि मानवीय भावनाले सक्दो सहयोग गरिएको राइको भनाइ छ । दुवै जिल्लाको दैविक विपद् व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गरिने उनले जानकारी दिए ।


