काठमाडौं / प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनमा चन्दा सहयोग गर्नेमाथि सुक्ष्म निगरानी बढाएको छ ।
प्रसाईंले सार्वजनिक रुपमै क्यूआएरमार्फत आन्दोलनलाई चन्दा दिन अपिल गरेका छन् । प्रहरी प्रधान कार्यालय श्रोतका अनुसार उनलाई आर्थिक सहयोग दिने व्यक्ति तथा संस्थाहरुमाथि उच्च निगरानी गरिएको छ ।
‘आन्दोलनका नाममा प्रसाईंले स्वदेश तथा विदेशबाट मोटो रकम असुल्न र आफ्नो बिग्रिएको आर्थिक कारोबार सल्टाउन खोजेको देखिन्छ’, एक उच्च प्रहरी अधिकृतले भने, ‘चन्दादातामाथि विशेष निगरानी बढाइएको छ ।’
प्रसाईंले आगामी ७ मंसिरमा काठमाण्डु केन्द्रित प्रदर्शनको तयारी गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार तीनवटै सुरक्षा निकायका प्रमुखसँग प्रसाईं र एमाले दुवैले सात मंसिरमा राजधानीमा गर्ने भनिएको प्रदर्शनबारे छलफल गरेका थिए ।


