भोजपुर / भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् ।

बाली लगाए पनि बाँदरबाट बचाउन समस्या भएपछि जमिन बाँझो छाड्न बाध्य भएका छन् । वैकल्पिक बाली लगाउँदासमेत बाँदरले हैरान पारेपछि जमिन बाँझो छाड्न बाध्य भएको रामप्रसादराई गाउँपालिकाका दीपकुमार मगरले बताए । मल, बीउबिजनभन्दा ठूलो समस्या बाँदर बनेको उनको भनाइ छ ।

पछिल्लो समयमा बाँदर अटेरी बन्दै गएपछि धपाउन झन् समस्या भएको  बोखिमका  किसान गङ्गा प्रधानले बताए । बाँदरको उप्रदोका कारण खेतबारीमा लगाएको बाली समय नै नपुगी उठाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

 उनले भने, “जो–कोहीले बारीमा आएका बाँदर धपाउन सकिने अवस्था छैन । सदादिन युवाले हेरचाह गरेर पनि सम्भव छैन । वृद्धवृद्धा, महिला तथा केटाकेटीलाई बाँदरले टेर्दैन । बाँदरको डरले अन्नबालीलाई समय नपुग्दै उठाउनुपर्ने अवस्था छ ।”

बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका टेम्केमैयुङ गाउँपालिका -९ लेखर्कका स्थानीय सन्तोष तिम्सिनाले जानकारी दिए ।

बाँदरले बस्तीमा पसेर दुःख दिन थालेपछि बस्ती नै खाली हुने अवस्था आएको स्थानीय टेकबहादुर तामाङले बताए । अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ । बाँदरका कारण ग्रामीण क्षेत्रमा बसाइँसराइको दर बढेको उनले जानकारी दिए ।

बाँदर मकैको थाङ्ग्रा, धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । बाँदर हेरचाह गर्नका लागि  दुईदेखि तीनजनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ । बाँदरलाई यन्त्र उपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाड्को टेम्केमैयुङ गाउँपालिका -९ लेखर्कका स्थानीय मन्दिप क्षेत्रीले जानकारी दिए ।

अधिकांश किसानको मुख्य समस्यारूपमा रहेको बाँदर आतङ्क नियन्त्रणमा राज्यले उचित विकल्पको खोजी गर्नुपर्ने किसानको भनाइ छ । arun अरूण गाउँपालिका