सुनसरी / इटहरीस्थित विश्वआदर्श कलेज सबैभन्दा बढी कर बुझाउने संस्था बनेको छ ।
उसले गत आर्थिक वर्ष ०७९/८० मा १ करोड १८ लाख ८४ हजार ७७५ रुपैया कर बुझाएको छ । यो रकम आन्तरिक राजस्व कार्यालयको सेवा क्षेत्रभित्रका कुनैपनि व्यवशायीक संस्थाले बुझाएको बढी कर रकम हो । यससँगै कलेजले सेवा क्षेत्रबाट बढी कर बुझाउने संस्थाको रुपमा सम्मान पाएको छ ।
यस्तै व्यापार तर्फ इटहरी २० तरहराको प्रभु फ्युल सेन्टर प्रालि सम्मानित भएको छ । उसले ६२ लाख ३१ हजार २६ रुपैया कर बुझाएको छ । यसैगरी उद्योगतर्फ धरान प्लाष्टिक्सले ५८ लाख २६ हजार ९६ रुपैया बुझाएको छ भने बैंक तथा वित्तीय संस्थातर्फ सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ४९ लाख २५ हजार ९८९ रुपैया बुझाएको छ ।
कार्यालयले १२ औं राष्ट्रिय कर दिवसको अवसरमा मंसिर १ देखि मनाइरहेको कर सप्ताहको समापनमा उत्कृष्ठ करदाताहरुलाई सम्मान गरेको हो । संस्थाका प्रतिनिधिहरुलाई सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सम्मान गरेकी थिइन् ।
आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख कर अधिकृत अर्जुन न्यौपानेको सभापतीत्वमा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागि थिए ।
कार्यालयले इटहरी उपमहानगरपालिका, बराह नगरपालिकाको वडा नं ८ देखि ११ सम्म, इनरुवा नगरपालिका, दुहवी नगरपालिका, रामधुनी नगरपालिका, देवानगञ्ज गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका, भोक्राहा गाउँपालिका र हरिनगरा गाउँपालिकाका करदाताहरुलाई सेवा दिइरहेको छ ।



