विराटनगर / नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई पहिचान पक्षधरहरुले गृह जिल्ला ताप्लेजुङमा कालो झण्डा देखाएका छन् ।

एमाले जिल्ला कमिटी ताप्लेजुङले आयोजना गरेको चाडपर्व लक्षित चियापान कार्यक्रमका सहभागी हुन घर आएका उनलाई फुङलिङस्थित उनको निवास अघि कालो झण्डासहित प्रदर्शन गरेका हुन् ।

यस्तै उनीहरुले एमाले पोलिट्ब्युरो सदस्य एवम् कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्वोविरुद्ध पनि नाराबाजी गरेका थिए । प्रदेशको नाम कोशी राख्न हस्ताक्षर गरेको भन्दै पूर्वमन्त्री मेन्याङ्वोविरुद्ध उनीहरुले नाराबाजी गरेका हुन् ।

कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने सांसदहरूलाई पहिचानवादीहरूले विरोध गर्दै आएका छन्। कोशी प्रदेश लेखिएको ब्यानरसहित सांसदहरूलाई उपस्थित गराएर कार्यक्रम नगर्न पहिचानवादीहरूले चेतावनी दिने गरेका छन्।

एमाले ताप्लेजुङले दसैँ, तिहार, छठ, चासोक तङ्नाम, उँधौली उभौंली, ल्होसार सहितका पर्वको अवसरमा आज चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा भट्टराई र मेन्याङ्वोसहित प्रतिनिधिसभाका सांसद उर्मिला थेवेको पनि उपस्थिति रहने छ ।