इटहरी / अनेरास्वबियु जनता बहुमुखी क्याम्पस कमिटिले कर्मचारी नियुक्ति प्रक्रियाको नतिजा रद्ध गरी नयाँ प्रक्रिया सुरु गर्न माग गरेको छ ।
एक विज्ञप्ती जारी गर्दै लामो समयदेखि विवादित कर्मचारी नियुक्ति प्रक्रिया रद्ध गरी निष्पक्ष ढंगले कर्मचारी छनोट गर्न माग गरेको हो । क्याम्पसको सञ्चालक समितिले स्थानीय नेताका श्रीमती तथा छोरीहरुलाई नियुक्त गर्ने चलखेल गरेको भन्दै विगतदेखि नै विरोध गर्दै आएको थियो ।
अख्तियारमासमेत मुद्धा परेको भएपनि अहिले क्याम्पस सञ्चालक समितिले सेटिङमा नतिजा सार्वजनिक गरी नियुक्ति प्रक्रिया अघि बढाएको आरोप विद्यार्थी संगठनको छ । ‘अहिले नियुक्त भएका कर्मचारीहरु सबै स्थानीय नेताका आफन्तहरु छन्, उनीहरुलाई सेटिङमा नियुक्त गरिएको छ,’ संगठनका अध्यक्ष उज्वल सिग्देलले भने, ‘एउटा शैक्षिक संस्थामा यो हदको सेटिङ र आफन्तवाद अमान्य छ ।’
यस्तै संगठनले कर्मचारी नियुक्ति प्रक्रियामा कानुन तथा विधान मिच्ने विषयमा क्याम्पस प्रशासन प्रमुख मुकदर्शक भएको भन्दै क्याम्पस प्रमुखको समेत राजिनामा माग गरिएको छ ।
यस्तै बिज्ञप्तीमा जनता बहुमुखी क्याम्पसको व्यवस्थापन समितिको पदाधिकारी गठन प्रक्रिया क्याम्पसको विधानको दफा ११ को विपरीत रहेको र मनोनित सदस्यहरुलाई चुन्ने र चुनिने अधिकारबाट बञ्चीत गराइएकोले सो प्रक्रिया खारेजी गरी विधान अनुरुप गठन गर्न माग गरेको छ।


