इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन चेतावनी दिएका छन् ।
पछिल्लो समय नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामा खलल पुर्याउने विभिन्न गतिविधि बढेको उल्लेख गर्दै मन्त्री किरातीले त्यस्तो गतिविधि स्वीकार्य नहुने बताए । इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औँ जन्मोत्सवको उद्घाटन गर्दै मन्त्री किरातीले धर्मनिरपेक्षताको विकल्प सोच्नै नसकिने बताए ।
‘धर्मनिरपेक्षतामा सबै जातजाति र धर्मावलम्बीले समान रुपमा फुल्न पाउँछन् । यो नै लोकतन्त्रको सुन्दर पक्ष हो,’ उनले भने, ‘पुरानो व्यवस्था फर्काउने कसरत नगर्नुहोला, यो सम्भव छैन ।’मन्त्री किरातीले हजारौँको बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको विकल्प नखोज्न आग्रह गरे । पहिलो पटक शाकाहारी गाउँ माङसेबुङ आएका मन्त्री किरातीले नेपाली माटो अनुसारको पर्यटन विकासमा जोड दिनुपर्ने बताए । ‘नेपाल धार्मिक र सांस्कृतिक पर्यटनको दृष्टिले विशिष्ट छ । यी विशिष्टताको आधारमा पर्यटन विकास गर्नुपर्छ,’ उनले भने, ‘माङसेबुङ नेपालको एकमात्र शाकाहारी क्षेत्र हो । यसलाई शाकाहारी क्षेत्रको रुपमा पर्यटन प्रवर्द्धन गर्नसके देशकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउन सकिन्छ ।’


