सुनसरी / नेकपा एमालेका अध्यक्ष कोशी केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारले नै साम्प्रदायिकतालाई बढावा दिइरहेको बताएका छन् ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रीत झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा मंगलबार ओखलढुंगाको हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सरकार नै साम्प्रदायिकताको जगमा उठेका कारण साम्प्रदायिकताका पक्षहरुलाई भित्रभित्रै बढावा दिइरहेको आरोप लगाए ।
सरकारले विकास ठप्प पारेर निराशा फैलाउने काम गरिरहेको उनको आरोप छ । एमालेले मात्रै मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सक्ने पनि उनले बताए । समृद्ध नेपालको नेतृत्व एमालेले मात्रै गर्नसक्छ, मिसन ८४ देशका लागि आवश्यक भएको उनले बताए ।
उनले आगामी निर्वाचनमा एमालेकै नेतृत्वमा एकल बहुमत ल्याउनु पर्ने बताए । एमालेकै नेतृत्वमा मुलुकमा सुदृढ राष्ट्रिय शक्तिको निर्माण हुने र स्वाधीनता बचाउन सकिने उनको भनाइ थियो । ओलीले एमाले नेतृत्वको अघिल्लो सरकारले एयरपोर्ट, बाटोघाटो निर्माण, खानेपानीको व्यवस्था र कृषि क्षेत्रको विकास गरेको दाबी गरे ।
उनले मध्यपहाडी क्षेत्रलाई दुर्गम बन्न दिन नहुने बताए । त्यसका लागि एमालेले विकासको पहल सुरु गरेको उनको भनाइ थियो । यात्राका क्रममा लोकमार्गका कयौं ठाउँमा मर्मतको आवश्यकता पहिचान भएको उनले बताए । साथै लोकमार्गमा जोडिने सम्पर्क बाटाहरु समेत निर्माण गर्नुपर्ने आवश्यकता देखिएको भनाइ उनले राखे ।
यात्राका त्रममा कोशी प्रदेश प्रवेश गरेका ओलीले मिर्चैयादेखि कटारीबाट घुर्मीसम्म सडकको समस्या, कटारीमा ५० शय्याको प्रदेश अस्पताल, गाइघाटमा रहेको अस्पताललाई १०० बेडमा स्तरोन्नति गर्ने लगायतका विषयमा सम्बोधनका लागि जनस्तरबाट सुझाव प्राप्त भएको जानकारी उनले दिए ।
ओलीसहित एमालेका केन्द्रीय पदाधिकारी र धेरै जना नेताहरु सहभागी यात्रा टोली हर्कपुरमा आयोजित सभा सकेर अहिले खोटाङको हलेसीमा स्थानीय बासिन्दा र पार्टी कार्यकर्ताहरुको भेटघाटका लागि हिंडेको जनाइएको छ । त्यहाँबाट ऊक्त टोली खोटाङको दिक्तेल पुगेर बास बस्ने पनि जनाइएको छ ।
ओलीको नेतृत्वमा मंसिर १४ गतेबाट एमालेले मध्यपहाडी लोकमार्गको यात्रा बैतडीको झुलाघाटबाट सुरु गरेको हो । पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर यात्रा सकिने जनाइएको छ ।


