भोजपुर / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार धेरै चल्ने र टिक्नवाला नभएको बताएका छन् ।
भोजपुरमा भएको कार्यक्रममा बोल्दै उनले यो सरकार कथम कदाचित अगाडि बढे देशलाई दुर्भाग्य हुने बताए । यो कुहिएको फल जस्तो भएको छ, यसलाई झारेन भने पनि आफै झर्छ । यो सरकार कुनै हालतमा पनि अगाडि बढ्न सक्ने अवस्थामा नरहेको ओलीले बताए ।
उनले एमालेलाई सिद्ध्याउँछु मार्छु भन्ने सपना भङ्ग गर्न समेत आग्रह गरे । अध्यक्ष ओलीले गठबन्धन सरकारमा रहेका दलहरू कसरी एमालेलाई कमजोर बनाउने भनेर लागेको बताए । ओलीले एमालेसँग एक्लै लड्ने त के हेर्न पनि नसक्ने अवस्थामा अन्य दलहरू रहेको बताए ।
उनले एमालेसँग एक्लै कोही लड्न नसक्ने भएकाले कसैले दाइने हात कसैले देब्रे हात कसैले जिउ समात्ने, कोही कम्मरमा समाएर पछार्न खोजेको बताए । एमालेले त्यो स्ट्रेन्थ एमालेले बनाउनु पर्छ ।
मिसन ८४ मा एमालेले बहुमत नल्याए देशको अस्तित्व नै सङ्कटमा पर्ने बताए । उनले भने, एमालेले बहुमत नल्याए देश धेरै अप्ठेरो अवस्थामा जाने छ । उनले देशमा वर्वाद भएको एमालेले हेरिरहन नसक्ने बताए ।


