मोरङ / बेलबारीबाट एक साताअघि रातारात सुनसरीको ईनरुवा सारिएको कोशी प्रदेश प्रहरी अस्पताल सञ्चालनमा बिवाद सिर्जना भएको छ ।
बेलबारीबाट अस्पताल सरेपछि बेलबारी नगरपालिका उपप्रमुख नेतृत्वको राजनीतिक दलका प्रमुख र यस क्षेत्रका सांसदहरुको टोलीले प्रदेशका मुख्यमन्त्री,राजनीतिक दलका प्रतिनिधि,प्रहरी प्रमुख र प्रधानमन्त्री समेतलाई भेटेर ज्ञापनपत्र बुझाएपछि अस्पताल बेलबारीमै फर्काउने आश्वासन प्राप्त भएपछि टोली काठमाण्डौबाट फर्किएको छ ।
उता जिल्ला समन्वय समिति सुनसरीको परिसरमा संचालन भैरहेको कोशी प्रदेश प्रहरी अस्पताल बुधबार उदघाटन गर्ने तयारी रहेको थियो । अस्पताल बेलबारीमै फर्काउने तयारीपछि अस्पताल उदघाटन तत्कालका लागि रोकिएको छ । अस्पताल उक्त स्थानमै संचालन हुनुपर्ने लगायतका विषयहरुमा सुनसरी जिल्ला स्थित कृयाशिल राजनैतिक दलहरूले बुधबार नेपाली कांग्रेस सुनसरीको पार्टी कार्यालयमा बसेको सर्वदलीय बैठकबाट निर्णय गरे बमोजिम सुनसरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको छ ।
दलका पदाधिकारीहरुले कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा बाट जान नदिन प्रतिबद्धता जनाएका छन् । यता बेलबारी नगरपालिका उपप्रमुख नितु थापा (कोईराला) ले अस्पताल बेलबारीमै फर्काइने त्यसका लागि नेपाल प्रहरीको केन्द्रिय टोली केही दिनमै उपयुक्त जग्गा अनुगमनका लागि बेलबारी आउने र अस्पतालको भवन निर्माण नभएसम्म बेलबारी ४ मा निर्माणधिन नगर अस्पतालको भवन उपलब्ध गराउने तयारी भएको बताएकी छिन ।


