सुनसरी / विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार सय किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसनमध्येका एक हो ।

ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी गत असोज अन्तिम साता चार्ज गरिएको थियो । उद्घाटन समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा मन्त्रालयका उच्च अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थिति थियो ।

पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँगको विद्युत् व्यापारका लागि जिआइएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो । इनरुवामै २२०/१३२/३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा छ । हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००/२२० केभी इनरुवा सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीनवटा पावर ट्रान्सफर्मर छन् । इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत् प्रवाह हुनेछ ।

इनरुवा–ढल्केबर प्रसारण प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लाका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीयरुपमा खपत गर्न र देशभित्र खपत गरी बचत भएको विद्युत् भारततर्फ निर्यात गर्न इनरुवा सबस्टेसन मेरुदण्डको रुपमा रहेको बताए ।