सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाले मनोमानी रुपमा करको दर बढाएको भन्दै मोरङ सुन्दरहरैंचा नगरका राजनीतिक दल र उद्योगी व्यवसायी आन्दोलित बनेका छन् ।
मोरङको सुन्दरहरैचा नगरपालिकाले अवैज्ञानिक तरिकाले बढाएको करको दर समायोजन नगरे आन्दोलमा उत्रिने चेतावनी राजनीतिक दल र उद्योगी व्यवसायीले दिएका छन् ।
बढाएको करको दर पुस १५ गतेभित्रमा समायोजन नगरे आन्दोलनमा उत्रिने चेतावनी दल र उद्योगी व्यवसायीले बिहीबार विराटचोकमा पत्रकार सम्मेलन गरेर दिएका हुन् ।आर्थिक वर्ष २०८०÷८१ मा नगरपालिकाले जग्गा वर्गीकरणको नाममा सय प्रतिशत कर बढाएको सुन्दरहरैंचा नगरपालिकाका पुर्वमेयर शिवप्रसाद ढकालले बताए । खेती किसानी गरेर आफ्नो दैनिकी चलाउनेलाई करको दर उच्च भएको कारणले समस्या भएको उनको भनाइ छ ।
करको दर बढेपछि सबै क्षेत्रलाई समस्यामा परेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राष्ट्रिय स्वतन्त्र पार्टी, जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी सुन्दरहरैचा, सुन्दरहरैचा उद्योग वाणिज्य संघ, सुन्दर दुलारी उद्योग वाणिज्य संघले विरोध जनाएका छन् । ‘हरेक क्षेत्रमा करवृद्धि गरिएको छ,’ माओवादी केन्द्र सुन्दरहरैचा नरपालिका अध्यक्ष दुष्यान्त भट्टराईले भने, राजस्व परामर्श समितिको बैठकमा आफूहरूले करवृद्धि नगर्न सुझाव दिएपनि बेवास्ता गर्दै नगरपालिकाले एकलौटी ढंगले करवृद्धि गरेकोले सच्याइनुपर्छ ।’
कार्यपालिकाको बैठकले जग्गा वर्गीकरणलगायतका विभिन्न शिर्षकहरुमा कर वृद्धि गरेको थियो । स्थानीय र राजनीतिक दलको चौतर्फी विरोध भएपछि नगरपालिकाले करबारे कार्यदल गठन गरेको छ । सुन्दरहरैचना नगरपालिका १२ का वडाअध्यक्ष रोशनप्रसाद ढकालको नेतृत्वमा कार्यदल गठन भएको नगर प्रमुख केदारप्रसाद गुरागाईले बताए ।
‘सामान्यता १० प्रतिशतसम्म करको दर बढाउन पाइन्छ, त्यहि अनुसार हामीले बढाएको हो’ उनले भने, ‘अहिले कार्यदल गठन भएकोले कार्यदलले दिएको प्रतिवेदनको आधारमा समायोजन गरिनुपर्ने देखियो भने कार्यपालिकामा लगिन्छ ।’ तर, नगरपालिकाकाले समयसापेक्ष रुपमा नै कर बढाएको उनले दावी गरे ।


