सुनसरी / नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन पुस २६ गते देखि २८ गते सम्म कैलालीको टीकापुरमा हुने भएको छ ।
नागरिक उन्मुक्ति पार्टी( एकीकृत) ले आफ्नो महाधिवेशन आउँदो पुस २६,२७ र २८ गते कैलालीको टीकापुरमा गर्ने १ नम्बर प्रदेश समितिले इटहरीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
पहिचानको आन्दोलनलाई समुदायमा आधारित समाजवादी व्यवस्थामा रुपान्तरण गर्ने लक्ष्य सहित भौगोलिक, सांस्कृतिक, ऐतिहासिक पहिचानका आधारमा संघिय प्रदेशहरु स्थापना तथा विकास गर्ने प्रतिबद्धता सहित टिकापुरमा महाधिवेशन गर्ने भएको नागरिक उन्मुक्ति पार्टीका संघिय अध्यक्ष ज्ञानबहादुर गुरूङले बताएका छन् ।
महाधिवेशनको तयारी स्वरुप प्रतिनिधि छनोट गर्न पुस २४ गते प्रतिनिधिहरू टिकापुर जाने भएका छन् । पुस २ गते इटहरीमा सम्पन्न भएको पदाधिकारी समायोजनबाट अध्यक्षमा धनबहादुर पङ्घाक र सहअध्यक्षमा जीवन धामी चौधरी रहने कार्य समिति बनाएको छ ।
महाधिवेशन तयारीका लागि विभिन्न १५ वटा उपसमिति समेत गठन गरेको छ । महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरु सहभागी हुने नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सह सचिव पदम अधिकारीले जानकारी दिए । पार्टीले गत बैशाख १८ गते विराटनगरमा एकता घोषणा सभा सम्पन्न गरेको थियोे ।
मुलुकका पहिचानवादी दल/शक्तिहरुको एकताको महसुस गरी थरुहट/टिकापुर विद्रोहको जगबाट गठित नागरिक उन्मुक्ति पार्टीसँग लिम्बुवान आन्दोलनको जगबाट गठित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला स्वायत्तताको जगबाट गठित कोचिला संयुक्त संघर्ष समिति र नागरिक सशक्तिकरणका लागि जागरण अभियान बिच वैचारिक, सांगठनिक र व्यावहारिक पार्टी एकताको लागि गरिएको १० बुँदे सम्झौतालाई आधार मानी महाधिवेशनको तयारी लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको थियो ।
संघीय लोकतान्त्रिक मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सह सचिव पदम अधिकारी , उपाध्यक्ष संगम खनाल , देवरारायण चौधरी लगायतकाले पहिचानवादी एकजुट भई उत्पीडन, विभेद र पछाडि परेका जातजातिलाई माथि उठाउनुपर्नेमा जोड दिएका छन्।
महाधिवेशनकालागि देशभरिबाट प्रतिनिधिहरु चयन हुनेक्रम चलिरहेको र अतिथिहरुकालागि निमन्त्रणा दिनेक्रम चलिरहेको जनाएको छ । उपसमिति समेत गठनमा राजनीतिक प्रतिवेदन मस्यौदा समितिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ, निर्वाचन समितिमा दामोदर पण्डित, आर्थिक समितिमा प्रतिनिधि सभा सदस्य गंगाराम चौधरी, प्रचार प्रसार समितिमा ठाकुरसिंह थारु, मञ्च व्यवस्थापन समितिमा घनश्याम चौधरीलाई जिम्मेवारी दिइएको छ ।


