काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ ।
ठमेलस्थित सरस्वती बहुमखी बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै आज उहाँले गाउँ रित्तिने अवस्थाको समाधान खोज्न आग्रह गर्नुभयो ।
“लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने नागरिकको अभावमा गाउँ किन रित्तिदै छन् ? नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली नागरिक ताँती लागेर विदेशिने क्रमलाई रोक्ने गरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी रहेको बताउनभुयो ।
देशकै पुरानो शिक्षण संस्था सरस्वती बहुमखी बहुमुखी क्याम्पसको वार्षिकोत्सवमा उपस्थित हुन पाउँदा राष्ट्रपति पौडेलले खुसी व्यक्त गर्नुभयो । उहाँले सोही क्याम्पसमा अध्ययन गर्नुभएको थियो ।
सबै नेपालीका छोराछोरीले शिक्षा प्राप्त गर्न अत्यन्त कठिन भइरहेका ती दिनमा पनि सस्तो सुलभ ढङ्गले उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गरेको सरस्वती क्याम्पस नेपालको शिक्षा क्षेत्रका लागि प्रेरणाको स्रोत बनेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो ।
क्याम्पसका संस्थापक क्याम्पस प्रमुख प्रा शङ्करराज पाठकले राष्ट्रपति पौडेल विद्यार्थीकालमा अत्यन्तै सक्रिय रहनुभएको स्मरण गर्दै उहाँको सक्रियतामा नै राष्ट्रले विकास र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । क्याम्पस प्रमुख गोलमान गुरुङ¬ले शैक्षिक गुणस्तरलाई ध्यानमा राखेर क्याम्पसले विविध शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो ।
विसं २०१६ पुस १० गते स्थापना भएको सरस्वती बहुमखी बहुमुखी क्याम्पसमा हाल दुई सयभन्दा बढी प्राध्यापक र २५ कर्मचारी कार्यरत छन् । सो क्याम्पसमा स्नातक र स्नातकोत्तर तहअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रममा करिब सात हजार विद्यार्थी अध्ययनरत छन् ।


