इटहरी । मगर समुदायको माघ्या सकराटी अर्थात् (माघे संक्रान्ति) पर्व इटहरी तालतलैया मा नेपाल मगर संघ इटहरीको आयोजनामा सम्पन्न भएको छ ।
कोशी प्रदेशसभा सदस्य रेवती रमण भण्डारीको प्रमुख आतिथ्यता तथा इटहरी उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष भक्त लामा, वडा सदस्य अमृत बस्नेत लगायत स्थानीय बुद्धिजीवी सुरक्षाकर्मी लगायत मगर समुदायको बाक्लाे उपस्थितीमा सम्पन्न भएको छ । प्रमुख अतिथि भण्डारीले यस माघेसंक्रान्तिको शुभकामना दिदैं सबै जातजातिको धर्म संस्कृति परम्परालाई जगेर्ना गर्नु हामी सबैको दायित्व भएको बताउनुभयाे
मगर समुदायले नाघ्या सकराटी अर्थात् ( माघे संक्रान्ति) विशेष चाडका रुपमा मनाउँछन् । मगर जातिले मान्दै आएको भूमेपूजा, वैशाखी पूर्णिमा र मंसिरे पूर्णिमा लगायतका चाडपर्वमध्ये माघे संक्रान्ति पनि विशेष रहेको नेपाल मगर संघ सुनसरी अध्यक्ष तुफान आलेले बताए । उनले भने ‘यी चाडपर्वहरू मध्ये मगर जीवनशैली र संस्कृतिका साथै समुदायमा प्रचलित र स्थापित पर्व माघे सकराटीलाई लिने गरिन्छ ।’

माघे सकराटी मगर जातिको उत्पादन प्रक्रिया, आर्थिक जीवन एवं सांस्कृतिक जीवनमा सर्वाधिक महत्व राख्ने पर्व भएको उनको भनाइ छ । ‘ऐतिहासिक पर्वका साथै भौतिक जीवनमा आधारित रहेको पर्वको रुपमा पनि लिने गरिन्छ,’ उनले भने, ‘यो पर्व हिउँदे अनिकाल र उँधेउली जीवन पार गरी खुसीयालीसाथ बाँच्न पाउने परिकल्पना सहित मनाइन्छ ।’ उनीहरूले यस पर्वमा धनुषवाण खेल्ने, छेलो हान्ने, तरुल, भ्याकुर र माछामासु खाने, मासको दाल भात र नून एकै ठाउँमा पकाई खिचडी बनाउने र त्यही खिचडीको पिण्ड पितृलाई दिने गर्दै आएका छन् । यस्तै छोरी, चेलीबेटी र इष्टमित्रहरूलाई बोलाउने र मीठोचोखो खाने परम्परा रहेको नेपाल मगर संघ इटहरी अध्यक्ष खोज बहादुर ल्हायोले बताए । ‘पुसको अन्तिम सातामा तरुल, सखरखण्ड, पिंडालुलगायत कन्दमूल जम्मा गरेपछि अन्तिम दिन राति त्यसलाई उसिन्छौं,’ उनले भने माघ १ मा एक ठाउँमा जम्मा भएर मगरको विशेष चुड्का नाच्ने गर्छौं ।’ माघे संक्रान्तिलाई बसन्त ऋतु र नयाँ पालुवा सुरु हुने खुसीयाली एवं उत्सव रुपमा लिइने गरेको ल्हायोले बताउनुभयाे ।

मगर समुदायको संस्कार संस्कृति बचाउन चेलीबेटीलाई खुवाउने, सकेको दान दिने र पाकेका बालीहरू भित्र्याएको उपलक्ष्यमा पनि यो पर्व मनाउने गरेको नेपाल मगर संघ इटहरी नगर समितिका अध्यक्ष ध्वज बहादुर मगरले बताउनुभयाे । ‘यो पर्वमा माइतीले चेलीबेटीलाई बोलाएर विभिन्न खानाका परिकारहरू खुवाउने गर्दछन्,’, उनले भने, ‘चेलीबेटीले पनि माइतीलाई मान्न रोटीका विभिन्न परिकार, बारा र रक्सी लिएर आउछन् ।’ सबै मगरहरूको घरमा चुड्का नाच्ने, गाउने, रमाइलो गर्ने, माया सद्भाव साटासाट गरी माघे सकराटी मनाउने गरिन्छ । यस वर्ष सुनसरी जिल्लाको धरान, इटहरी, बराहक्षेत्र, इनरूवामा भव्यताका साथ माघे संक्रान्ति मनाइएको समितिका अध्यक्ष तुफान आलेले ले बताउनुभयाे ।



