विराटनगर / नेपाली कांग्रेस नेतृत्को कोसी प्रदेश सरकार ढाल्न कांग्रेसका नेता र प्रदेश सांसद नै सक्रिय भएको खुलासा भएको छ ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य अमृत अर्यालको नेतृत्वमा केही नेता कांग्रेसकै सरकार ढाल्न अग्रसर भएका हुन् ।

अहिले कोशी प्रदेशका कांगेसका केदार कार्की नेतृत्वको सरकार छ । स्रोतका अनुसार अर्याल बुधबार साँझ नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटघाट गर्न ओली निवास बालकोट पुगेका छन् । उनले ओलीसँग कार्की नेतृत्वको सरकार ढालिदिन र फेरि नयाँ कोर्सबाट सरकार गठनको कार्य थालनी गरिदिनु पर्यो भन्दै जिरह गरेको स्रोतले जनाएको छ । “कार्की सरकारले जनअपेक्षा अनुसार काम गरेन त्यसैले यो सरकार ढालिदिनु पर्यो,” अर्यालले अध्यक्ष ओलीसँग अनुरोध गरेको स्रोतले बतायो ।

अर्याल यसअघि कांग्रेस कोसीको संसदीय दलको नेतामा उठेर शर्मनाक ढंगले पराजित भएका थिए । उनले मुख्यमन्त्री बन्ने भन्दै चुनावी प्रचार गराएर मोरङको निर्वाचन क्षेत्र नम्बर ५ बाट उठेका थिए । तर, सभापति शेरबहादुर देउवाले नै उनको विवादास्पद राजनीतिक छविका कारण दलको नेतामा उठ्दा समेत साथ नदिइ उद्धव थापालाई सघाएका थिए । कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन ।