काठमाडौँ / एसएस एभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ वैशाख अन्तिम सातादेखि हुने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत यस सिजन वैशाख २३ देखि २८ सम्म प्रतियोगिता हुने जानकारी दिइएको हो । तीन वर्षपछि हुन लागेको कर्पोरेट सुपर सिक्सेसमा कुल २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पाँच ओभरमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ। सो प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोग रहने एसएस इभेन्ट्सका निर्देशक सुमित रौनियारले बताए ।

एसएस इभेन्ट्सका निर्देशक रौनियारले नाफा कमाउनेभन्दा पनि नेपाली क्रिकेट विकास गर्ने र कर्पोरेट सेक्टरलाई क्रिकेटमा भित्र्याउने उद्देश्यअनुरूप प्रतियोगिता गर्दै आएको बताए । अब छिट्टै उमेरसमूहको प्रतियोगिता आयोजना गर्दै नेपाली क्रिकेट विकासमा सहयोग गर्ने उनको योजना छ । सन् २०१४ सुरु भएको कर्पोरेट सुपर सिक्सेसको छैटौं सिजनसम्म एसएस एभेन्ट्सले नै गर्दै आएको थियो । नेकोस सातौं सिजनदेखि खेलकुदको क्षेत्रमा आफ्नो दरिलो उपस्थिती जनाउदै आएको छ । खेल भब्य र सभ्य हुने नेको केन्द्रीय सचिव बिप्लब घोषले बताए ।