इटहरी / १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको आज (शनिबार) फाइनल खेल हुँदैछ ।

उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । इटहरी रंगशालामा साँझ साढे ६ बजे हुने खेलमा दुवै टिम सफलता हात पार्दै उपाधि हात पार्ने तयारीमा छन् ।

फाइनल खेलअघि भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक तथा क्याप्टेनले उपाधि जित्ने सम्भावना ५०–५० प्रतिशत रहेको बताए । आर्मीका प्रशिक्षक मेघराज केसीले पछिल्लो समय उच्च लयमा रहेको चर्च ब्वाइजविरुद्धको खेल चुनौतीपूर्ण रहेको बताए ।

क्याप्टेन नवयुग श्रेष्ठले इटहरी गोल्डकपको १२ औँ संस्करणमा फाइनल पुगेर पनि उपबिजेतामै सीमित रहनुपरेको पीडालाई भुलाउन पनि यसपटक जीत हात पार्ने बताए ।

चर्च ब्वाइजका सहायक प्रशिक्षक रुबेन राईले आर्मी बलियो टिम भएकाले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताए । दुवै टिममा राष्ट्रिय खेलाडीहरूको बाहुल्यता रहेकाले जित्ने रणनीतिका साथ मैदान उत्रिने उनले बताए । क्याप्टेन दीप कार्कीले आफूहरूको विगतका कमजोरी सच्याउँदै उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा भएको प्रतियोगिताका विजेता टिमले नगद १० लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार रुपैयाँ पाउने छन् ।