भोजपुर / भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लवले खोटाङ भगवती स्पोर्टस क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको छ ।
निर्धारित समयमा खेल बरावरी भएपछि पेनाल्टी सुट आउटमा त्रिभुवन आर्मीले खोटाङलाई हराएको हो । पेनाल्टीमा आर्मीका तर्फबाट चार गोल भएको थियो भने खोटाङ भगवतीले तीन गोल मात्र गर्न सफल भयो ।
अन्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको निर्धारित समयसम्म दुवैतर्फबाट गोल हुन नसकेको अवस्थामा अतिरिक्त थपिएको दुई मिनेटको समयमा त्रिभुवन आर्मीका जर्सी नम्वर ३५ का खेलाडी बसन्त जिम्बाले एक गोल गर्दे खाता खोल्न सफल भएका थिए ।
त्यस्तै दोश्रो हाफमा खोटाङका तर्फबाट छ नम्वर जर्सीका खमिर गिलसानले एक गोल गर्दे खेललाई बरावरी अवस्थामा पुर्याउन सफल भएका थिए । आठ टिमको सहभागितामा सञ्चालित प्रतियोगिता अन्तर्गतको आइतवारको पहिलो खेलमा त्रिभुवन आर्मीले भारतको जर्जियन फुटवल क्लवलाई ४–० गोल गर्दे सेमीफाइनल प्रवेश गरेको थियो भने सोमवारको दोश्रो खेलमा राजारानी फुटवल क्लवलाई २–१ अन्तरले हराउँदै खोटाङ भगवती स्पोर्ट्स क्लब र मङ्गलवार भएको तेश्रो खेलमा डाँगीहाट यूथ क्लव मोरङलाई ४–० गोलले पराजित गर्दे सलहेश युवा क्लव सिरहाले सेमिफाइनलको यात्रा तय गरेको थियो ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल सङ्घ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
शुक्रवारको दोश्रो सेमिफाइनल खेल सलहेश युवा क्लव सिरहा र चर्च व्बाइज युनाइटेड, काठमाडौँ बीचमा हुने आयोजकले जनाएको छ । फाइनल खेल आगामी वैशाख १५ गते हुने छ । भोजपुर जिल्ला फुटवल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजममा यही वैशाख ९ गतेबाट गोल्डकप प्रतियोगिता भइरहेको छ । करिव ४९ लाख २५ हजार पाँच सयको लागतमा गोल्डकप आयोजना भएको छ ।


