इटहरी / आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ फिल्म हलमा  प्रदर्शनमा आएको छ । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्रमा मुख्य भूमिकामा उनी स्वयं छिन् ।

भर्खरै स्कुल पढ्दै गरेकी नाबालिकाको विवाह आफूभन्दा २४ वर्ष जेठो पुरुषसँग भएपछि उसले अन्धविश्वासका कारण समाजबाटै भोगेको हिंसाको कथा फिल्ममा देखाइएको छ । समाजमा बोक्सी भनेर लगाइने आरोप र त्यसकै आधारमा महिलामाथि हुने अन्यायलाई फिल्ममा मुख्य कथावस्तु बनाइएको छ । अन्धविश्वासका कारण समाज कतिसम्म क्रूर बन्नसक्छ भन्ने तथ्यलाई समेत कलात्मक ढंगले फिल्ममा देखाइएको छ ।

चलचित्रमा रमा थपलिया, सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बाँस्तोला लगायतका कलाकारले अभिनय गर्नुभएको छ । 

फिल्मको विषयवस्तु नेपाली समाजले देखिरहेको, हाम्रा हजुरआमाहरुले भोगेको घटनामा आधारित छ । एकल महिलामाथिको तिरस्कार, बोक्सी भन्दै गरिने अत्याचार, बलात्कार अनि यातनाका कुरा छन् । दृश्यहरुले दर्शकहरुलाई धेरै ठाउँमा छुन्छ । 

फिल्मको सबैभन्दा उत्कृष्ट पक्ष कलाकारहरुको अभिनय हो । ठूली जुना (केकी), सानी जुना र उनकी आमाको अभिनय र संवाद अत्यन्त सशक्त छ । दर्शकहरुलाई धेरै ठाउँ रुवाउँछ ।

चलचित्र क्षेत्रमा स्थापित नाम बनिसकेकी उनी उक्त भूमिका निर्वाह गर्न अभिनयको कक्षा लिएर चरित्र निर्माणका लागि छ महिना कार्यशालामा बसेकी थिईन् । त्यसपछि अडिसनमार्फत् निर्देशक तथा लेखक सुलक्षण भारतीले अभिनेत्री अधिकारीलाई शीर्ष भूमिकामा सहमति दिएका हुन् । सयौँ म्युजिक भिडियोमा अभिनय गरेपछि झन्डै डेढदशक अगाडि ‘स्वर’ चलचित्रमार्फत अभिनेत्रीको रुपमा ठूलो पर्दामा आएकी अभिनेत्री अधिकारीले यस किसिमको अनुभव पहिलो पटक सङ्गालेकी हुन् ।

डेढ दशकपछि अडिसन दिनुको कारण उनलाई उक्त पात्रको भूमिका निर्वाह गर्दा देखाउन सकिने कलाकारिता र चलचित्रले उठान गरेको विषय नै थियो ।