इटहरी / उभौली पर्वको शुभकामना आदानप्रदान गर्दै नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ प्रदेश सभा क, ख तथा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ मोरङका ऐतिहासिक प्रथम अधिवेशन केराबारीमा सम्पन्न भएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ क्षेत्रिय कार्यसमिति क्षेत्र नं. १ मोरङको आयोजनामा उक्त अधिवेशन सम्पन्न भएको हो । 

नेपाली कांग्रेसले आदिवासी जनजातीहरुको पहिचानको युद्धलाई उत्थान गर्दैन भनेर बारम्बार विपक्षीले प्रहार गरिरहेता पनि आज आदिवासी जनजातीलाई एक गर्न नेपाली कांग्रेस लागि परेको र लाखौं आदिवासीलाई एउटै संगठनमा आवद्ध गर्न सफल भएको पूर्व युवा तथा खेलकुद मन्त्री र नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बुले जानकारी दिए । 

विभिन्न जाती, भाषा, धर्म र वर्गको मान्छे भएता पनि पूर्वको मेचीदेखि पश्चिमको महाकाली र तराई देखि हिमाल सम्मको सम्पूर्ण व्यक्तिहरुलाई नेपाली कांग्रेसको संगठनले समेटेर लैजाने जिकिर समेत गरे । 

आदिवासी जनजातीको पहिचानको मुद्दाहरुलाई नेपाली कांग्रेसका पार्टीसँग समन्वय गरेर लैजाने हो भने पहिचानवादीका हरेक मुद्दाहरु सफल हुने कार्यक्रमका अध्यक्ष विमल राईले बताए । आदिवासी जनजाती युवाहरु  विगठित नभईकन एउटै पार्टीमा आवद्ध हुनुपर्ने समेत उनको भनाई थियो । 

भ्रष्टचारीलाई जेल हाल्ने, नातावाद, कृपावाद र गुटबन्दीलाई त्यागेर नेपाली कांग्रेस सच्चिनुपर्ने क्षेत्र नं. १ का सभापति शंकर राईले बताए । बिराटनगरमा बस्नेले जति सेवा सुविधा पाएका हुन्छन् त्यति नै मोरङका उत्तरी क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुले पनि पाउनुपर्ने लँडाई रहेको र सबै प्रकारको क्रान्तिको अन्त्य भएको अब भने कांग्रेसले आर्थिक क्रान्ति गर्नैपर्ने राईले बताए । 

कस्तुरीको बिना आफैसँग भएको हुँदा नेपाली कांग्रेसले अरु पार्टीसँग आफ्नो झण्डा मिसाइराख्नु नपर्ने नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ मोरङका सभापति रेखबहादुर तामाङ्ले बताए । कुसुन्डाको उदाहरण दिँदै आदिवासी जनजाती भनेको के हो र धेरै आदिवासी जनजातीहरुले पार्टीमा स्थान नपाउनुको कारणको बारेमा चर्चा गर्दै अबका दिनमा नेपाली कांग्रेसलाई बलियो बनाउन स्थान नपाएका तर नेपाली कांग्रेस पार्टीसँग आस्था राख्ने सम्पूर्ण व्यक्तिहरुलाई नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ एक उत्कृष्ट स्थान भएको तामाङ्ले बताए । 

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ क्षेत्र नं. १ क, ख र क्षेत्रीय अधिवेशनबाट चक्रमान तामाङ्को नेतृत्वमा प्रदेश क समिति र रबिन लिम्बुको नेतृत्वमा प्रदेश ख समिति गठन भएको छ । क्षेत्रीय कार्य समितिमा भने असहमति भएको हुँदा कार्यसमिति चयन गर्न सकेको छैन ।