सुनसरी / प्राचीन हरिद्वार चतरामा चलिरहेको महाकुम्भ मेलामा शनिवार अरू दिन भन्दा धेरै भीड भएको थियो । कुम्भमा राजनीतिक दलका नेताहरू, मन्त्रीहरूको आगमनले पनि आकर्षण बढेको छ ।
कुम्भ स्नानका लागि आउनेहरूका लागि शनिबार अर्को आकर्षण पनि थिए नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ।
चतराधाम आइपुगेका अध्यक्ष ओली पहिलो दृष्टिमा जगतगुरु बालसन्त मोहन शरण देवाचार्यका लागि आकर्षणको केन्द्र बनेका थिए ।
अध्यक्ष ओलीले कुम्भस्नान गरेको हेर्न चाहने र उनीसँगै कुम्भस्नान गरेको फोटो खिच्न चाहनेहरूको चाहाना भने पुरा हुन सकेन । उनी महाकुम्भ स्थल आए पनि कुम्भ स्थान गरेनन् ।
बालशन्त महाराजको प्रवचन पण्डालमा भएको स्वागत कार्यक्रम अध्यक्ष ओलीले आफ्नो सम्पूर्ण तनमन र ध्यान सुखी नेपाली, समृद्ध नेपाल बनाउने लक्ष्यमा केन्द्रित रहेको बताए । उनले भने ‘मलाई सम्पत्ति कमाउने कुनै लोभ लालच छैन ।’
उनले देश, जनता र मानव कल्याणका निम्ति समर्पित हुँदै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा आफ्नो ध्यान केन्द्रित रहेको बताए । उनले सम्पत्ति कमाउने कुनै लोभ लालच नभएको भन्दै आफूसँग केही पनि धन सम्पत्ति नरहेको उल्लेख गरे ।
अध्यक्ष ओलीले कोसी क्षेत्र सप्तऋषिहरूले तपस्या गरेको पवित्र तपोभूमि भएकाले धार्मिक इतिहाससँग जोडिएको स्थानको विकासका निम्ति सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले महाकुम्भ मेला नगरपालिकाले सहयोग गर्दै आएको र मेलालाई सफल बनाउन नगरपालिका लागि परेको बताए ।
केपी शर्मा ओलीलाई अभिनन्दन समेत गरिएको थियोे । चतराधाम कुम्भ मेलामा अहिले सम्म १२ लाख भक्तजनले स्नान गरेको आयोजक समितिले जनाएको छ । गएको चैत २७ गते सुरु भएको पूर्ण महाकुम्भ मेला यही वैशाख २८ सम्म चल्नेछ । शनिबारमात्र ४ लाख भक्तजनले सहभागीता रहेको थियोे ।
सो कार्यक्रममा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राई , कोशी प्रदेशका पुर्व मुख्यमन्त्री हिक्मत कार्की , कोशी प्रदेश सभा सदस्य रेवती रमण भण्डारी, इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरी , आयोजना समितिका प्रतिनिधि, विभिन्न राजनीति दलका प्रतिनिधि , भक्तजन लगाएको बाक्लो सहभागीता रहेको थियोे ।


