नेकपा एमाले सुनसरी जिल्ला कमिटीको आगामी जेठ ५, ६, ७ गते आयोजना हुने आठौं जिल्ला अधिवेशनको प्रचारप्रसार स्थानीय भाषामा गरिने भएको छ ।
प्रचारप्रसार उपसमितिको आज बिहीबार बसेको बैठकले डिजिटल मिडियामार्फत गरिने अधिवेशनको प्रचारप्रसारमा स्थानीय भाषाको प्रयोग गर्ने निर्णय भएको संयोजक रवि खनालले जानकारी दिए ।
जिल्ला अधिवेशनको प्रचारप्रसार मैथली, थारु, राई वान्तवा, लिम्बू, नेवारी, तामाङलगायत नेपाली भाषामा गरिने निर्णय गरिएको हो ।
नेकपा एमाले सुनसरीले प्रतिनिधि छनौटका लागि बैशाख २८ गते धरान, इटहरी, कोशी र हरीनगरका लागि निर्धारण गरेको छ । बैशाख २९ गते इनरुवा, दुहवी, रामधुनी र बराहक्षेत्रबाट प्रतिनिधि छनोट गरिने छ । यस्तै बैशाख ३० गते भोक्राहानरसिंह, गढी, वर्जु र देवानगञ्जका प्रतिनिधि छनोट हुने छन् ।
प्रनितिधि छनौट तोकिएकै मितिमा सम्पन्न गर्नु पर्ने र कुनै कारणले तोकिएको दिन सम्पन्न हुन नसकेमा जिल्ला पार्टी कार्यालयको अनुमति लिएर मात्र अर्को दिन छनौट गर्नु पर्ने पार्टीको सर्कुलरमा उल्लेख गरिएको छ ।
पार्टी सर्कुलरअनुसार छानिएका प्रतिनिधिको वडागत नामावली आगामी वैशाख ३१ गते जिल्ला पार्टी कार्यालय इनरुवा आइपुग्नु पर्ने उल्लेख छ र। जेष्ठ १ गते प्रमाणित गरी जेष्ठ २ र ३ गते प्रनितिधि परीचय पत्र वितरण गरिने कार्यक्रम रहेको छ ।
नेकपा एमाले सुनसरी जिल्लाको आठौं अधिवेशन जेठ ५, ६ र ७ गते इटहरी ५ पचरुखीस्थित लाइन्स क्लवको सभाहलमा हुनेछ । अधिवेशन उदघाटन दिनको १२ वजे एक समारोहका बीच हुनेछ । उद्घाटन सत्रको कार्यक्रम साझ ४ वजे सम्म चल्ने छ । बन्दसत्र प्रारम्भ साँझ साढे ४ बजेदेखि साढे ५ बजेसम्म हुनेछ भने दोस्रो दिन जेष्ठ ६ गते बिहान ८ वजे देखि अपराह्न ३ बजे सम्म हुनेछ । जेष्ठ ६ गते साढे ३ बजेदेखि साँझ साढे ५ बजेसम्म पदाधिकारी तथा सदस्यको मनोनयन र अन्य विषय निर्वाचन समितिको निर्णय अनुसार हुनेछ ।


