इटहरी : कोशी फुटबल सङ्घले इटहरीमा खेलाडी तथा अफिसियल सम्मान तथा स्वागत कार्यक्रममा आयोजना गरेको छ । कोशी प्रदेश खेलकुद विकाश बोर्डका सदस्य सचिव परशुराम बस्नेतको प्रमुख आतिथ्यतामा इटहरीमा भएको हो ।
राष्ट्रिय महिला छनौट फुटबल प्रतियोगिताको विजेता बनेर फर्किएका महिला खेलाडीको सम्मानमा कार्यक्रम आयोजना गरिएको हो । वैशाख ३ गते सम्पन्न महिला छनौट लिगमा विजयी महिला टिम घर फर्किएका छन् । उनीहरूको सम्मानमा कोशी फुटबल सङ्घले जनही २ हजार र ट्रयाक सुट प्रदान गरेको छ ।
प्रमुख अतिथिको रूपमा कार्यक्रममा सहभागी भएका बस्नेतलाई खेलाडीको प्रश्नले झस्कायो । महिला फुटबल टिमकी क्याप्टेन खुस्मा राईले यसअघि खेलेको प्रतियोगिताको पारिश्रमिक कहिले आउँछ भन्दै प्रश्न गरिन् । सदस्य सचिव सँग खेलाडीको पारिश्रमिकको व्यवस्था गर्न उनको माग थियो । गत चैतमा बाग्मती प्रदेशले आयोजना गरेको अन्तर प्रदेश खेलकुद प्रतियोगितामा महिला र पुरुष दुवै तर्फ कोशी विजयी भएको थियो । कोशीबाट प्रतिनिधित्व गर्ने खेलाडीले हालसम्म पारिश्रमिक पाएका छैनन् ।
आयोजकले प्रत्येक खेलाडीलाई ५ हजारका दरले पैसा दिएपनि खेलकुद विकास समितिले पारिश्रमिक नदिएको उनीहरूको भनाइ छ। निर्वतमान सदस्य सचिव हंसराज वाग्लेले खेलाडीलाई राम्रो पारिश्रमिक दिने बाचा गरेका थिए तर आफ्नो बाचा अनुसार काम गरेका थिएनन् ।
लामो समयसम्म आफ्नो काम कर्तव्य बाट पर भागेका वाग्ले उच्च अदालतको फैसलाले पद बाट बाहिरीएपछि पुनर्वहाली भएका सदस्य सचिवलाइ सो सेलाइरहेको विषय स्मरण गराएका हुन् । सोही प्रतियोगिताको जितेको दुई वटै ट्रफी सदस्य सचिवले बस्नेतले ग्रहण गरेका छन् प्रतियोगितामा कोशीले ५६ पदक पाएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै सदस्य सचिव बस्नेतले आफू खेलाडीको सारथिको रूपमा रहने प्रतिबद्धता जनाए । खेलकुदको विकासमा सरकार सहित निजी क्षेत्रको साथ जरुरी रहेको उनको भनाइ छ ।
खेलाडीले सेवासुबिधा पाएका छैनन् भन्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै उनले पारिश्रमिक पाउने कुरामा कुनै कसर बाँकी नराख्ने र खेलाडीलाई प्रोत्साहन गर्ने बाचा गरे । खेलाडीको चाहना र भावना अनुसार काम गर्ने र उत्कृष्ट खेलाडी उत्पादन गर्नेबाहेक कुनै स्वार्थ नरहेको उनले जोड दिए ।
सङ्घका अध्यक्ष किशोर राईले खेलाडीलाई प्रोत्साहन नगरे प्रतियोगिताको नतिजा निकाल्न नसकिने धारणा राखे । खेलाडीको जीविकोपार्जनको ग्यारेन्टी लिन सके मात्र फुटबलको संस्थागत विकाश गर्न सकिने उनको भनाइ थियो ।


