काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका निम्ती विशेष कार्यक्रम आउने बताउनु भएको छ ।
समाज कल्याण परिषद् अन्तर्गत रहेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज आयोजना गरेको क्यालेण्डर बिमोचन तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समाजसेवा गर्ने समाजसेवी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।
कोषका सभापति बसन्तराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले ज्येष्ठ नागरिक हामी सबैको अग्रज, पुजनीय व्यक्तित्व भएको हुनाले उहाँहरूप्रतिको दायित्व सबैले निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।
पछिल्लो समय आफ्नै सन्तान, आफन्त, समाज, परिवारले समेत ज्येष्ठ नागरिकलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको भन्दै मन्त्री चौधरीले त्यो समस्यालाई समाधान गर्नका निम्ती सन्तानको कमाईको १० प्रतिशत आफ्ना आमा बुवाका निम्ती छुट्याउने व्यवस्था गरिएको बताउनुभयो ।
राज्यले ज्येष्ठ नागरिकको सम्मानका निम्ती २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारले बृद्धभत्ता कार्यक्रम ल्याएको भन्दै उहाँले अहिले त्यही कार्यक्रम नै सामाजिक सुरक्षाका रुपमा वृद्धि हुँदै गएको बताउनुभयो । ‘
भारतबाट केही समय पहिले ज्येष्ठ नागरिकहरूको भ्रमण आउँदा नेपालले ज्येष्ठ नागरिकका निम्ती वितरण गर्दै आएको कार्यक्रमको प्रसंसा समेत गरेको उल्लेख गर्दै उहाँले विश्वका केही समाजवादी मूलुकमा मात्र यस्तो व्यवस्था हुने गरेको बताउनुभयो । ‘भारतमा उपचार सेवा उपलब्ध गराइने र विशेष अवस्थामा सहुलियत दिने व्यवस्था छ ।
परिवार, समाज, आफन्त र सन्तानबाट अपहेलित, पीडित ज्येष्ठ नागरिकका लागि राज्यले सधैँ अभिभावकत्व ग्रहण गर्ने मन्त्री चौधरीले बताउनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मुलुकको जनसंख्याको ८० प्रतिशत जनसंख्यासँग सम्बन्धित मानव संवेदनशिल मन्त्रालय भएको भन्दै उहाँले त्यस अनुसार बजेट भने न्यून रहेको बताउनुभयो ।
आगामी आर्थिक वर्षमा मन्त्रालयले विशेषगरी ज्येष्ठ नागरिकलाई लक्षित गरेर दिवा मिलन केन्द्र जस्ता कार्यक्रम ल्याउन लागेको भन्दै मन्त्री चौधरीले त्यसलाई सबै वडाहरूमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका निम्ति केही नयाँ कार्यक्रम ल्याइने बताउँदै ज्येष्ठ नागरिक सम्मानलाई निरन्तरता दिइने बताउनुभयो ।
त्यस अवसरमा कार्यक्रममा विशिष्ट अतिथि शताब्दी पुरुष डा.गौरीशंकरलाल श्रेष्ठले मन्त्री चौधरीलाई सम्मान गर्नुभएको थियो । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि चौधरीले ज्येष्ठ नागरिकको सेवामा समर्पित अगुवाहरू मदन श्रेष्ठ, अहल्या श्रेष्ठ, भरतलाल श्रेष्ठ, श्यामसुन्दर श्रेष्ठ, रञ्जना श्रेष्ठ, विष्णुप्रसाद नेपाल र फोटो पत्रकार श्याम चित्रकारलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा कोषको वार्षिक क्यालेण्डर समेत विमोचन गरिएको थियो ।


