काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न संघीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताउनुभएको छ । एप्पल इन्टरनेशनल स्कुल तीनकुनेले शनिबार आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । 

विद्यालय शिक्षण सिकाइको मन्दिर भएको भन्दै मन्त्री चौधरीले बालबालिका केन्द्रित शिक्षण सिकाई अपनाउन आग्रह गर्नुभयो ।संविधानले शिक्षा क्षेत्र स्थानीयलाई दिएको भन्दै उहाँले अबको शिक्षण सिकाई बालबालिकामैत्री हुनुपर्ने बताउनुभयो । 'संविधानमा शिक्षालाई स्थानीय तहमा दिइएको छ । केही कुराहरू स्थानीय तहअनुसार फरक-फरक व्यवस्था गर्न पाउने व्यवस्था छ', उहाँले भन्नुभयो, 'राज्यको संरचना अनुसार तिनै तहमा शिक्षाका केही विषयहरू एक खालको हुनुपर्छ । 

शिक्षण सिकाई अहिलेको समयसापेक्ष र बालबालिका केन्द्रित बनाउन विद्यालय, परिवार, राज्य सबैको भूमिका रहने उहाँले बताउनुभयो । 'शिक्षण सिकाई बालबालिका केन्द्रित हुनुपर्छ । पाठ्यक्रम त्यसअनुसार बनाउनुपर्छ । त्यसपछि मात्रै बच्चाले राम्रोसँग सिक्न सक्छ । 

सरकारी विद्यालयको स्तर खस्किएको सन्दर्भमा अहिले धेरै गुनासो आएको भन्दै उहाँले विद्यालयमा राजनीतिकरण भएका कारण पनि रूपमा समस्या उत्पन्न भएको हुनसक्ने बताउनुभयो । 'सरकारी विद्यालयको स्तर खस्किएको छ । 

बच्चालाई राम्रो शिक्षा दिलाउनका निम्ति शिक्षक, विद्यालय र परिवार सबैको महत्त्वपूर्ण भूमिका रहने भन्दै उहाँले बच्चालाई सिकाउने पहिलो विद्यालय आफ्नै घर भएकाले घरमा पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो, 'तपाईँको बच्चा बन्न स्कुल परिवार पनि जिम्मेवार हुन्छ सँगै अभिभावकको पनि उत्तिकै जिम्मेवारी हुने बताउनुभयो ।

विभिन्न पक्षबाट अन्यायमा परेका, हिंसामा परेका, विभिन्न अपराधजन्य कार्यमा संलग्न भएर तथा परिबन्धमा परेका बालबालिकाहरूको न्याय निरूपणका निम्ति छुट्टै बाल अदालतको आवश्यकता रहेको मन्त्री चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, 'अहिले बच्चाहरू पनि अहिले विभिन्न माध्यमबाट प्रताडित छन् । ती सबै बालबालिकाको संरक्षण गर्दै अगाडि बढ्नुपर्ने छ । हाम्रो मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बालअधिकार परिषद्ले यस क्षेत्रमा काम गर्दै आएको छ ।'

भोलिका दिनमा देश बनाउने अहिलेका बालबालिकाहरू नै भएको भन्दै मन्त्री चौधरीले अहिले संसद्‍मा शिक्षासँग सम्बन्धित विभिन्न विधेयकहरूमा छलफल भइरहेको समेत बताउनुभयो । 

विद्यालयका प्रिन्सिपल यमनाथ मैनालीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । त्यस अवसरमा शिक्षा क्षेत्रमा योगदान दिने विभिन्न व्यक्ति तथा शिक्षकहरूलाई सम्मानित गरिएको थियो ।