इटहरी : नेकपा एमाले सुनसरीको आठौँ अधिवेशन आउने वैशाख ५,६ र ७ गते इटहरीको पचरुखी स्थित लायन्स क्लबको सभाहलमा हुने भएको छ । गएको वैशाख १६ गते बसेको जिल्ला कमिटीको बैठकले इटहरीमा आठौँ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । १६ वैशाखको जिल्ला कमिटी बैठकले अधिवेशनमा प्रतिनिधि छनोट कार्यविधि तय गरेको छ ।

अधिवेशन प्रतिनिधिहरू मूलभूत रूपमा भूगोल र जन सङ्गठनहरूबाट चुनिने छन् । भूगोलबाट प्रतिनिधि चयन गर्दा ३५ जना सङ्गठित सदस्य बराबर १ अधिवेशन प्रतिनिधि छनोट हुनेछ । भने, दलित सदस्यहरू प्रतिनिधि छनोट गर्न २० बराबर १ अधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ। यसरी छनोट गर्दा प्रतिनिधिको सङ्ख्या कुनै इकाईमा ३ जना भए त्यसमा एक जना महिला अनिवार्य गरिएको छ । अर्थात्, प्रतिनिधि छनोट गर्दा अनिवार्य ३३ प्रतिशत महिला अनिवार्य हुनु पर्ने कार्यविधिले व्यवस्था गरेको छ ।

जनसङ्गठन प्रतिनिधि छनोट भने जिल्ला कमिटीले नै तोकेको सङ्ख्याको आधारमा सम्बन्धित जनसङ्गठनले छनोट गर्ने छ । जिल्लाभर रहेका २३ वटा जनसङ्गठनहरूबाट १०१ जना प्रतिनिधि चुनिने छन् । 

कहिले सम्म प्रतिनिधि छनोट ?

प्रतिनिधि छनोटको लागी प्रत्येक इकाईहरूमा जिल्ला कमिटीले १ जना सहजकर्ता खटाएको छ । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रेवतीरमण भण्डारीका अनुसार सहजकर्ताले प्रतिनिधिहरूको छनोट गरी ३१ वैशाख सम्म जिल्ला पार्टी कार्यालयमा प्रतिनिधिको नाम आउने गरीको व्यवस्था गरिएको छ ।

अधिवेशन गर्न कसरी हुँदैछ पार्टी परिचालन ?

सम्मुखमा रहेको जिल्ला अधिवेशन सफल बनाउन जिल्ला कमिटीको निर्णय अनुसार एक मूल व्यवस्थापन समिति बनेको छ । मूल व्यवस्थापन समितिले अन्य बिभिन्न उपसमितिको कामको कामहरूको अनुगमन र समन्वय गर्ने छ । 

मूल व्यवस्थापन समितिको 'सुपरभिजन'मा अधिवेशन अफल बनाउन आर्थिक व्यवस्थापन उपसमिति, राजनैतिक सांगठानिक प्रतिवेदन लेखन उपसमिति, स्वयंसेवक परिचालन उपसमिति, मञ्च तथा सभाहल व्यवस्थापन उपसमिति, अतिथि सत्कार उपसमिति, प्रचारप्रसार उपसमिति, यातायात व्यवस्थापन उपसमिति र स्वास्थ्य सेवा उपसमिति गरी ८ वटा उपसमितिले जिम्मेवारी लिएर आफ्नो कामहरू गर्दैनन् ।