विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन् । कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ । 

९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए । विश्वासको मतका लागि सरकारको सिफारिसमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभा बैठक आह्वान गरेका थिए।

वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले विश्वासको मत पाएका हुन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । कार्कीलाई एमालेका ३९, माओवादीका १३, एकीकृत समाजवादीका ३ र जसपाका १ जना प्रदेश सभा सदस्यले मत हालेका छन् ।

विश्वासको मतका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको छ। कांग्रेसले भने प्रदेश सभा बहिष्कार गरेको छ। तर निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।