नेकपा एमाले सुनसरीको आगामी जेठ ५, ६ र ७ गते हुने अधिवेशनका लागि एमाले सुनसरीले आधिकारिक 'प्रतीक चिह्न' लोगो सार्वजनिक गरेको छ । 

इटहरीमा सोमबार पत्रकार सम्मेलन गर्दै एमाले जिल्ला कमिटी सुनसरीले 'लोगो' सार्वजनिक गरेको हो । 

लोगोले सुनसरी जिल्लाको समावेशिता, बहुधार्मिकता, पर्यावरणीय सुन्दरता, बहुआयामिक भौगोलिक विविधता, जैविक विविधतायुक्त पर्यटकीय क्षेत्र, कोशीटप्पु वन्यजन्तु आरक्ष, कृषिको आधुनिकीकरण र  उद्यमशीलतालगायतका सुनसरी जिल्लाको बहुआयामिक पहिचानलाई देखाउने प्रयास गरेको जिल्ला उपाध्यक्ष निलम खनालले बताउनुभयो। 

'पार्टी अधिवेशनले नेतृत्वको पुस्तान्तरण र हस्तान्तरण मात्र नभएर, जिल्लाको समृद्धि र समग्र विकासको खाकासमेत कोर्ने भएकाले प्रतीक चिह्नले समेत नेकपा एमालेको जिल्ला निर्माणको भिजनको प्रतिनिधित्व गर्नुपर्छ,' उपाध्यक्ष खनालले भन्नुभयो । 

एमालेको सातौं जिल्ला अधिवेशन इनरुवामा आयोजना गरिएको र आठौं अधिवेशन इटहरीमा गर्न लागिएको उपाध्यक्ष खनालले बताउनुभयो । पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जिल्ला अधिवेशन र यसको सन्देशलाई आमजनमानसमा पुर्याउन केन्द्रीय सदस्य लक्ष्मी गौतमले अनुरोध गर्दै कार्यक्रम सफलताको शुभकामना दिनुभयो ।