इटहरी / इटहरीमा निर्माण गरिएको बाल लघु चलचित्र 'गौंथली' धनगढीमा आयोजना हुन लागेको राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ मा प्रस्तुत गरिने भएको छ । चलचित्र विकास बोर्डले असार ७, ८ र ९ गते धनगढीमा राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ आयोजना गर्दै छ ।

कृन्जल पौडेलको लेखन तथा निर्देशन रहेको बाल लघु चलचित्र 'गौँथली' ले बाल श्रम कानुनी अपराध हो भन्ने विषय उठान गरेको छ । चलचित्रमा रितेश जंग खत्री पौडेल, प्रमीला लम्साल, उदय सुब्बा, सुभद्रा प्याकुरेल, मनीषा बस्नेत साथै बाल कलाकार कृष्टिना पौडेल र निर्देशक समेत रहेकी कृन्जल पौडेलको भूमिका रहेको छ । चलचित्रको छायाङ्कन प्रकाश सुब्बाले गरेका हुन् । चलचित्रको सम्पादन हेमन तामाङले गरेका हुन् ।

केही समय अघि इटहरीमा बालबालिकाका लागि चलचित्र निर्माणसम्बन्धी 'मेरो कथा, मेरो चलचित्र' कार्यशाला आयोजना भएको थियो । सोही कार्यशालामा सिकाइए बमोजिम निर्माण भएको बाल लघु चलचित्र 'गौंथली' लाई राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ प्रस्तुत गर्न लागिएको हो । गौंथली की लेखक तथा निर्देशक कृन्जल समाजसेवी तथा कलाकार रितेश जंग खत्री पौडेलकी छोरी हुन् । हुने बिरुवाको चिल्लो पात भने झैँ उनी सानैदेखि कलाकारिताका क्षेत्रमा अब्बल बन्दै गएकी छन् ।