काठमाडौं / सामाजिक कथामा आधारित चलचित्र ‘गाउँ आएको बाटो’ आज (शुक्रबार) देखि देशभर प्रदर्शनमा आएको छ । अस्ति (बुधबार) प्रिमियर शो हेरेका चलचित्रकर्मी, राजनीतिककर्मी तथा सामाजिक क्षेत्रका अगुवाहरुले चलचित्रमा वर्तमान समाजको यथार्थ चित्रण गरिएको भन्दै निर्माण टिमको प्रशंसा गरेका छन् ।

नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ राई समुदायमा आधारित छ । ग्रामीण क्षेत्रमा भएको सडक विस्तारले राई समुदायको जीवनशैली र संस्कृतिमाथि पारेको प्रभावलाई चित्रण गरिएको छ ।

सामाजिक रहन-सहन र स्थानीयको जीवनलाई विकाससँगै भित्रिने समस्या र त्यसले पार्ने प्रभावलाई चलचित्रमा उतारिएकाले यथार्थपरक भएको समाजशास्त्री कृष्ण भट्टचनको प्रतिक्रिया छ ।

चलचित्रको कथा महेश राईले लेखेका हुन् भने आमोद राईको लगानी छ । चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रशन राईको मुख्य भूमिका छ ।

अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत प्रदर्शन भइसकेको यो चलचित्र क्यानडाको टोरोन्टो फिल्म फेस्टिभल, दक्षिण कोरियाको बुसान, ब्राजिलको साउपाउलो, भारतको मुम्बईलगायत विभिन्न देशका डेढ दर्जन महोत्सवमा छनोट भएको दाबी निर्माण टिमले गरेको छ ।