सुनसरी / सुनसरीको इटहरीमा तीन दिने ‘इस्टर्न ट्राभल मार्ट’ शुक्रबार देखि सुरू भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा इटहरीको सोल्टी वेस्टेण्डमा कोशी प्रदेशका पर्यटन व्यवसायीको विकास तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार देखि जेठ २७ गतेसम्म उक्त मार्ट हुने भएको हो ।

इटहरीको आँपगाछी स्थित सोल्टी वेस्टेण्डको प्राङ्गणमा सञ्चालन भएको मार्टमा भारतको विहार, पश्चिम बङ्गाल, सिक्किम प्रान्त, भुटान र बङ्गलादेश लगायत मुलुकबाट ८० जना भन्दा बढी पर्यटक आएका थिए । विदेशी बाहेक नेपाल भित्रैबाट लुम्बिनी, बागमती, गण्डकी, मधेश र अन्य प्रदेशका ५० जना भन्दा बढी ट्राभल व्यवसायीहरूको सहभागिता रहेको थियोे ।

कार्यक्रम उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेशका पर्यटकीय स्थल धनकुटा ,तेह्रथुम ,पाँचथर, इलाम ,झापा सुनसरी , पोखरा, चितवन र काठमाडौंका व्यवसायी सँग व्यापारीक सम्झौता हुने र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।

कोशी प्रदेशका पर्यटन व्यवसायीको विकास तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यले मार्ट आयोजना गरिएको नेपाल पर्यटन बोर्डका निर्देशक हिक्मत सींह ऐरले बताउनुभयो । उद्घाटन कार्यक्रममा कोशी प्रदेशमा हाल सम्म संचालित तारे होटलहरु प्रदेशका मुख्य गन्तव्यहरु र धार्मीक स्थलहरु, हस्पीटालिटि मेनेजमेन्ट कलेजहरु गरी ३० वटा भन्दा बढी स्टल राखिएको आयोजक संस्थाका कोषाध्यक्ष तेजबहादुर पुरीले बताउनु भयो ।

कार्यक्रमको अवधिमा प्रदेशमा रहेका विभिन्न पर्यटकीयस्थलको भ्रमण गराइने छ  । विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीहरूबीच प्रत्यक्ष संवाद मार्फत व्यावसायिक समझदारी बनाउने वातावरण सृजना गर्न आयोजना गरिएको मार्टका संयोजक भविश कुमार श्रेष्ठले बताउनुभयो ।

पर्यटन प्रवर्द्धन गर्न इटहरी उपमहानगरपालिकाले इस्टर्न ट्राभल मार्टलाई सहयोग गर्ने साथै इटहरीका पर्यटकीय स्थल तथा व्यवसायलाई प्रवर्द्धन गर्ने इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताउनुभयो । कोशी प्रदेशको पर्यटन विकास र प्रवर्धनमा टेवा पुराउने व्यक्तिलाई समेत सम्मान गरिएको थियोे ।

पर्यटन बोर्डको ३० लाख रुपैयाँ सहयोग र इटहरी उपमहानगरको रु ३ लाख लागतमा कार्यक्रम भएको हो । कार्यक्रमको समापन झापाको काँकरभिट्टामा रहेको होटल मेची क्राउनमा यही जेठ २७ गते हुने आयोजकले जनाएको छ ।1717832392590