भोजपुर | आफ्नै आमाको हत्या गरेको आरोपमा भोजपुरको अरुण गाउँपालिकाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियारले टाउकामा प्रहार गरी आमाको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार अरुण गाउँपालिका–४ ल्याङडाँडा, चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई पक्राउ गरिएको हो । उनले आइतबार राति आमा ६८ वर्षीया निरकुमारी तामाङलाई धारिलो हतियार सिक्कलले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै चरम्बीस्थित अस्थायी प्रहरी पोष्ट र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको टोलीले तामाङलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।