खोटाङ / कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १–० गोलले पराजित गर्दै उपाधिको रक्षा गरेको हो । 

झापाका लागि जेनिफर रानामगरले पहिलो हाफको १५ औँ मिनेटमा निर्णायक गोल गरिन् । उपाधिसँगै झापाले नगद रु दुई लाख पुरस्कार  प्राप्त गरेको छ । उपविजेता भोजपुरले रु एक लाख पुरस्कार प्राप्त गर्यो । प्रतियोगिताभर नौ गोल गरेकी झापाकी जेनिफर उत्कृष्ट खेलाडी भइन् ।

उनले सेमिफाइनल खेलमा ताप्लेजुङ विरुद्ध ६ गोल गरिन् । उनले रु पाँच हजार प्राप्त गरिन् । यस्तै प्रतियोगितामा उत्कृष्ट गोलरक्षक झापाकी जसोदा राई, उत्कृष्ट डिफेन्डर भोजपुरकी कमला श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर झापाकी सिम्रन राई, उत्कृष्ट फरवार्ड भोजपुरकी आरती भुजेल र उदीयमान खेलाडी खोटाङकी रिया राई घोषित भए ।

उनीहरुले जनही रु तीन हजार पुरस्कार प्राप्त गरे । विजेता खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायतले पुरस्कार प्रदान गर्नुभयोे ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोगमा प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले जानकारी दिनुभयो । चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण गरिएको खेलमैदानमा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो ।1720696211661