काठमाडौं / मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ शुक्रबारबाट प्रदर्शन सुरु भएको छ । विवाह संस्कृतिलाई प्रस्तुत गरिएको उक्त चलचित्रको निर्देशन अनिल बुढा मगरले गरेका छन् । चलचित्र ‘घरज्वाइँ’ ले मनोरञ्जनसँगै उक्त समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न मद्दत गर्ने विश्वास गरिएको छ । 

घर ज्वाइँ बस्ने परम्परालाई छोरीप्रतिको उच्च सम्मानका रूपमा सो चलचित्रमा देखाइएको छ । शुक्रबारका बिहानी शोमा वर्षाले असर गरेपनि दिउँसोका शोमा देशभर नै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको वितरक रोहित कट्टेल र रत्न श्रेष्ठले बताए । 

फिल्मका वितरक कट्टेलले विभिन्न हलमा हाउसफुल भएका स्क्रिन सर्ट सामाजिक सञ्जाल फेसबुकमा राख्दै दर्शकको राम्रो साथ मिलेको भन्दै खुशी व्यक्त गर्नुका साथै दर्शकलाई धन्यवाद समेत दिएका छन् । शुक्रबार काठमाडौं उपत्यका र पूर्वी नेपाल अनि पश्चिम नेपालमा बिशेषगरी दाङ, बुटवल, नेपालगञ्ज लगायतका ठाउँमा दर्शकको राम्रो साथ मिलेसँगै केही हलले फिल्मको शोमा बढोत्तरी समेत गरेका छन् ।

फिल्मले दर्शकबाट उत्कृष्ट वर्डअफ माथउ पाएकाले शनिबारको व्यापार बम्पर हुने अपेक्षा निर्माण टिमलाई छ । निर्माता जनक घर्ती मगरले शुक्रबारका बिहानी शोमा पानीले केही असर गरेपछि दिवा शोबाट हलमा दर्शकको चाप रहेको बताए ।

'अन्य समुदायमा छोरीको विवाह गर्दा सोधखोज गर्ने चलन रहे पनि मगर समुदायमा घरमै राखेर ज्वाइँको परीक्षण गरिने परम्परा छ,' निर्देशक मगरले भने । उनले भविष्यमा दुःख परेमा ज्वाइँले कसरी सङ्घर्ष गर्छन् र छोरीलाई पाल्छन् भन्ने परीक्षाकै रुपमा घरज्वाइँ बस्ने परम्परालाई बुझ्न आग्रह गरे । 

जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘घरज्वाइँ’मा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आलेलगायत कलाकारको अभिनय देख्न सकिन्छ । अभिनेत्री मिरुना मगरले आफू विदेशमा हुर्किएकाले यस संस्कृतिलाई नजिकबाट चलचित्रकै माध्यमले बुझ्न पाएको बताइन् । 

उनले भनिन्, 'छोरी भएका कारण पनि घरज्वाइँ बस्ने परम्परा गज्जब लाग्यो । आफ्नो छोरीको खुसी जुनसुकै अभिभावकले पनि चाहनुहुन्छ, यसमा आफ्नै घरमा राखेर परीक्षण गरिन्छ । यसले छोरीलाई पाल्न सक्ने व्यक्ति भनेर पहिचान गराउँछ ।'