धनकुटा । पुर्वकै चर्चित पर्यटकीयस्थल धनकुटाको भेडेटारमा स्काइ वाक सञ्चालनमा आएको छ । नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास सहित वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले स्काई वाक सञ्चालनमा ल्याएको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारलाई साहसिक पर्यटनको हव बनाउन चाल्स पोइन्टमा स्काइ वाक टावर सञ्चालनमा ल्याइएको हो। एघार रोपनीमा रहेको स्काइ वाकको लम्बाइ ४१ मिटर, चौडाइ २ मिटर र १८ दशमलब ५ मिटर अग्लो टावर रहेको छ। स्काइ वाकले स्वदेशी तथा विदेशी पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि गर्ने र प्रदेश सरकारले मनाउने पर्यटन वर्ष २०८२ लाई सहयोग पुग्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बताउनु भयो। स्काई वाकबाट पूर्वका १४ जिल्लाका विभिन्न ठाउँहरु नियाल्ल्न सकिन्छ। चार बर्षअघिदेखि निर्माण थालिएको स्काईवाक प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले २० करोड लगानीमा निर्माण गरेको हो। स्काइ वाकको आम्दानीबाट साँगुरीगढी गाउँपालिका, धरान उपमहानगरपालिका र प्रदेश सरकारले लिने राजस्वको सहमति पश्चात सञ्चालनमा ल्याइएको परियोजनाका कार्यकारी निर्देशक सञ्जिव रोक्काले जानकारी दिनुभयो। स्काईवाक परियोजनाले प्रत्यक्ष र अप्रत्यक्ष गरी १२० भन्दा बढी रोजगारीको अवसर सिर्जना गर्ने अनुमान छ। यसले स्थानीय अर्थतन्त्रलाई गति दिनुका साथै भेडेटार क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको व्यवसायी रमेश श्रेष्ठले बताउनु भयो। भेडेटारमा सञ्चालनमा आएको स्काई वाकमा एकपटकमा २५ जनासम्म हिड्न सकिने क्षमता रहेको छ। यहाँ हिँड्दा खुला आकाशमा हिँडेजस्तो अनुभव हुने र साहसिक पर्यटनका पारखीहरूले यसमा मज्जा लिने बताइएको छ।