धनकुटा । नागपञ्चमीको अवसरमा शुक्रबार धनकुटाको हिलेस्थित बक्रकुण्ड मन्दिरमा भक्तजनको भीड लागेको छ । मन्दिरमा नाग देवताको बास रहेको विश्वासमा भक्तजनहरु पूजाआजाका लागि आउने गर्दछन् । योे मन्दिरमा पूजा–आराधनाका लागि धनकुटा सहित तेह्रथुम, भोजपुर, संखुवासभा लगायतका स्थानबाट समेत भक्तजन आएका छन्। यस्तै मन्दिरको १४ औ स्थापना दिवसको अवसर पारेर आयोजक बक्रकुण्ड महेश्वर मन्दिर हिलेले स्थापना दिवस मनाएको छ। धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बक्रकुण्ड मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा थप विकास गर्नका लागि नगरपालिकावाट भरपूर सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले धार्मिक कुरा जे भएपनि वातावरणीय सन्तुलन कायम राख्न सबै प्राणी जगत बचाइ राख्नुपर्ने बताउनु भयो । धनकुटाको पर्यटकिय स्थलको रुपमा विकास हुदै गरेको यो क्षेत्रमा १४ वर्षअघि नाग पञ्चमीको दिन नाग देवता सहित दर्जन भन्दा बढी देवीदेवताका मुर्ति प्राकृतिक रुपमै देखा परेपछि धार्मिक स्थलको रुपमा स्थापित भएको हो । त्यसपछि नागपञ्चमीको दिन मन्दिरमा भक्तजनको भिडभाड लाग्ने गरेको छ भने मेलाको अवसरमा मन्दिरमा विभिन्न पुजापाठको आयोजना गर्ने गरिएको छ । बक्रकुण्ड मन्दिरमा नेपाली सेना पूर्वी कमाण्ड हिलेको सहयोगमा विभिन्न संरचना निर्माण गरिएको छ । यस्तै ४ वर्षअघि मन्दिर परिषरमा नागको मुर्ति स्थापना गरिएको छ । मन्दिरको धार्मिक तथा पर्यटकिय महत्व बढाउन सात मुख भएको नागको करिब दश फुट अग्लो मुर्ति स्थापना गरिएको थियो ।