विराटनगर / कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
विराटनगरमा बोर्डले कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको उपस्थितीमा सरोकारवालाहरूसँग कोशी प्रदेश खेलकूद विकास बोर्डको आयोजनामा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ तयारीका लागि प्रदेश खेलका अध्यक्ष सचिव र जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष एंव प्रशीक्षक बीचको विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
१० औँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा यही मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना हुँदैछ ।
कार्यक्रममा बोल्दै मन्त्री राईले कोशी प्रदेशले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिकतम पदक जित्ने गरी तयारीमा लाग्ने बताउनु भयो ।
मन्त्री राईले प्रदेशका खेलकुद क्षेत्रका सबै सरोकारवालाहरूले एकताका साथ कोशी प्रदेशलाई पहिलो स्थानमा पुर्याउने गरी आवश्यक तयारी गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण(पर्शुराम) बस्नेतले आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकहरूलाई बोर्डले सहयोग गर्न कुनै पनि कसर बाँकी नराख्ने बताउनु भएकाे छ ।
बस्नेतले जिल्ला खेलकुद विकास समितिमार्फत् प्रत्येक जिल्लामा खेल सङ्घहरूको सहकार्य र समन्वयमा प्रतियोगिता लक्षित कार्यक्रम आयोजना अघि बढाउने जानकारी गराएकाे छ ।
कार्यक्रममा बोल्दै कोशी प्रदेश गल्फ सङ्घका अध्यक्ष सुयेश प्याकुरेलले सरकारले खेलकुद क्षेत्रमा भने जति लगानी गर्न नसकिरहेको अवस्थामा निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न आग्रह गरे । 
साे अन्तरक्रियामा कोशी फुटवल सङ्घका अध्यक्ष किशोर राईले खेलाडीले खेलेरै जीवन निर्वाह गर्न सक्ने अवस्था निर्माण गर्न सबैले दत्तचित्त भएर लाग्नुपर्ने बताउनु भयो ।
राईले सामाजिक विकास मन्त्रालयले ५० वर्षअघिको अवस्थामा सम्झेर नभएर ५० वर्षपछिको योजना बनाएर खेलकुद क्षेत्रमा लगानी गर्न आवश्यक रहेको जानकारी गराएका थिए।
प्रदेशका १४ वटा जिल्लाका जिल्ला खेलकुद विकास समितिको प्रतिनिधित्व गर्दै झापाका अध्यक्ष प्रशान्त भण्डारीले खेलकुदमा जनशक्तिको अभाव पूर्ति गर्न मन्त्रालयले तत्काल नयाँ प्रशिक्षकरूको नियुक्ति गर्न सुझाव दिएका थिए।
यसअघि गण्डकीमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा कोशी प्रदेशले ३६ वटा खेलमा १० स्वर्ण, २३ रजत र ५० कास्यसहित ८३ पदक जितेको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोर्डका सदस्य तथा विभिन्न खेलकुद सङ्घका प्रदेश अध्यक्ष, सचिव, खेलका प्रशिक्षकहरू ,१४ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्षलगायतको सहभागिता रहेका थिए ।


