इटहरी / तीज नजिकिँदै गर्दा यसपलि सार्वजनिक भएका तीज गीतहरू प्रायः छाडापनका कारण आलोचनाको शिकार भएका छन्। यस परिप्रेक्ष्यमा, नेपाली संगीतको नयाँ परिदृश्यमा 'मासिनो खाउँला सुकीलो लाउँला' बोलको मौलिक तीज गीत सार्वजनिक गरिएको छ। यो गीत केवल मौलिक मात्र नभई सन्देशमूलक र जनचेतना फैलाउने शैलीको पनि छ।
गीतको भिडियो शनिबार इटहरीमा एक विशेष औपचारिक कार्यक्रममा सार्वजनिक गरिएको हो। सुनसरीको इटहरीस्थित पाथिभरा स्कुलको सभाहलमा भएको भिडियो विमोचन कार्यक्रममा मोरङ जिल्लाका सिडिओ प्रेम प्रसाद भट्टराई प्रमुख अतिथि थिए। भट्टराईले भिडियो प्ले गरेर विमोचन गर्नुभएको थियो।
गीतमा ऋचा काफ्लेले आवाज दिएका छन्, जसका शब्दकार गणेश खड्का हुन् र संगीत दुर्गा पराजुलीको हो। गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ राजु कार्कीले गरेका छन्। कोरसमा दुर्गा पराजुली, यमुना पराजुली, भूमिका अधिकारी र आयुष बिष्टको सहभागिता रहेको छ। यो गीत भवना डिजिटल रेकर्डिङ स्टुडियो र स्टुडियो किंग काठमाडौंमा रेकर्ड गरिएको हो, र रेकर्डिस्ट हेम सुब्बा रहेका छन्।
म्युजिक भिडियामा कलाकार सरिता दाहाल र प्रज्वल काफ्लेले अभिनय गरेका छन्। भिडियोलाई दुर्गा पराजुलीले निर्देशन गरेका हुन्, लक्ष्मी समलले कोरियोग्राफी गरेका छन्, र शिर कुमार साम्पाङ र दिनेश राई (सुबिन) ले छायांकन गरेका छन्। एन्जल ब्यूटी पार्लरले श्रिङ्गारको कार्य गरेको छ भने भिडियोलाई सम्पादन र रंग संयोजन छायाकार साम्पाङले गरेका छन्।
यो गीतले तीजको मौलिकतालाई उजागर गर्दै सबैको मनमनामा बस्ने विश्वास निर्माण गर्न सफल भएको छ।


