विराटनगर / नेकपा (एमाले) कोशी प्रदेश कमिटीले १३ बुँदे आचारसंहिता जारी गर्दै विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापालाई कारबाही गरेको छ।
आइतबार विराटनगरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले अध्यक्ष थापालाई पदीय जिम्मेवारीबाट विमुख गर्दै २ महिनाका लागि पार्टी साधारण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी दिए। खतिवडाका अनुसार, थापालाई स्थानीय खानेपानी निर्वाचनमा उम्मेदवारलाई नियन्त्रणमा राख्न नसकेको कारण यो कारबाही गरिएको हो।
थापा विरुद्धको यो कारबाहीसँगै, प्रदेश कमिटीले नेता तथा कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा पार्टी र शीर्ष नेताहरूविरुद्ध जथाभावी लेख्न रोक लगाउने उद्देश्यले १३ बुँदे आचारसंहिता लागू गरेको छ। आचारसंहितामा पार्टीको गोपनीयता भंग नगर्न, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी नगर्न, र पार्टीभित्र गुट उपगुट नगर्न निर्देशन दिइएको छ।
पत्रकार सम्मेलनमा पार्टीका कोशी प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य शेरधन राईले एमालेको आगामी २०८४ को निर्वाचन मिसन सफल बनाउनका लागि पार्टीको तयारीबारे चर्चा गरेका थिए। उनले इलाम, तेह्रथुम, र मोरङमा पार्टी अधिवेशन शीघ्र सम्पन्न गरिने जानकारी दिए।
प्रदेश कमिटीले अधिवेशन रोकिएका तीन जिल्लामा कार्तिक मसान्तभित्र अधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइरहेको छ। साथै, राईले आउँदो निर्वाचनपछि एमालेले एकलौटी सरकार बनाउन सक्ने हैसियत प्राप्त गर्नेगरी काम गरिरहेको बताए।


