संखुवासभा / नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा संखुवासभा कांग्रेसका पूर्वसभापति स्वर्गीय गोपालराज पहाडीको १२ औं स्मृति सभा आज भव्य रूपमा सम्पन्न गरेको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ संखुवासभाको आयोजनामा भएको यस कार्यक्रममा पहाडीको योगदानलाई स्मरण गर्दै कांग्रेस नेताहरूले उनको नेतृत्व र संघर्षको खुलेर प्रशंसा गरे ।
कार्यक्रमका प्रमुख अतिथि, नेपाली कांग्रेस संखुवासभाका कार्यवाहक सभापति अन्नतकुमार गौलीले स्वर्गीय पहाडीले पञ्चायतकालमा कांग्रेसको संगठनलाई जोगाउन र बलियो बनाउन गरेको संघर्षको विशेष स्मरण गरे। उनले भने, "पञ्चायती व्यवस्थामा कांग्रेसलाई ध्वस्त पार्न खोजिएको अवस्थामा पनि पहाडीले संगठनलाई बलियो बनाउँदै ०४६ सालको जनआन्दोलनद्वारा बहुदलीय व्यवस्था पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए।"
यस अवसरमा दलित संघका केन्द्रीय सदस्य डिपी परियार, शेरबहादुर बन, हरिश्वर थापामगर, विमन पराजुली, उषा कार्की, सल्येन नेपाली, निरू तामाङ बस्नेत लगायतका नेताहरूले पनि स्वर्गीय पहाडीले संखुवासभा कांग्रेसको निर्माण र सुदृढीकरणमा पुर्याएको योगदानको चर्चा गरे।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ संखुवासभाका अध्यक्ष बरूणकुमार गुरूङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव बम राईले गरेका थिए। यस कार्यक्रममा कांग्रेस संखुवासभाका पूर्वसभापति दिपनकुमार श्रेष्ठ, कोशी प्रदेश सदस्यद्वय राजेन्द्र घले र कमला घले, प्रेस युनियनका पूर्वसभापति कृष्णराज शाक्य, तथा नेवि संघका केन्द्रीय सदस्य विकास राई लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
स्वर्गीय गोपालराज पहाडी, जसको वास्तविक नाम गोपालराज दाहाल हो, नेपाली कांग्रेसका लागि एक निडर र समर्पित नेता थिए। उनकाे जन्म २००२ साल चैत १ गते पिता टिकादत्त दाहाल र माता कमलादेवी दाहालको कोखबाट मादीमा भएको थियो । २०७० साल भदौ ३ गते निधन भएका पहाडीले २०३३ सालदेखि २०५७ सालसम्म २० वर्षसम्म संखुवासभा कांग्रेसको सभापति र २०५६ सालदेखि २०७० सालसम्म १४ वर्षसम्म केन्द्रीय सदस्यका रूपमा उल्लेखनीय योगदान पुर्याएका थिए ।

