सुनसरी / धार्मिक तथा सामाजिक कथावस्तुमा अभिनय तथा नाच प्रस्तुत गरी नाचिने थारु समुदायको प्राचीन नृत्यलाई थारु युवाहरुले सङ्ग्रहित गर्ने अभियान थालेका छन् । 

नटुवा, मृदंगीया, झाइल वादक र गवैयाको सहभागितामा नाचिने धुम्रानाचलाई समुदायमै गएर सङ्कलन गरी सङ्गीतबद्ध गरेका थारु युवाले श्रव्यदृश्य सामग्री छायाङ्कनको शुभ मुहुर्त गरेका छन् । निर्माण पक्षले शुक्रबार रामधुनी-९ स्थित डुम्राहा थारु टोलबाट छायाङ्कन सुरु गरेका हुन् । 

समुदायको कला संस्कृति जगेर्नाका लागि अभियान सुरु गरेको थारु अगुवा सुनिल चौधरीले जानकारी दिए । रामधुनी-१ डुमैरियाका थारु अग्रजबाट संस्कृतिमा आधारित शब्दहरू सङ्कलन गरिएको हो । सङ्कलित गीतमा अनुमा चौधरी, सिर्जना चौधरी र रन्जना चौधरीले स्वर दिएका छन् । सङ्गीत संयोजन भने गणेश चौधरीको रहेको छ ।

बराहक्षेत्र, रामधुनी, इटहरी, दुहबी, खनार, चितवनलगायतका युवा कलाकारको अभिनय रहेको म्युजिक भिडिओलाई श्रवण चौधरीले निर्देशन गरेका छन् भने उदयपुर चौदण्दीगढीका शिव चौधरीको कोरियोग्राफी गरेको छ । 

received_1024391365824906received_509823431740540

अभियानका लागि देशविदेशमा रहेका थारु समुदायका अगुवाले आर्थिक सहयोग गरेका छन् । यस्तै सुनसरीकी रामधुनी-९ वडा कार्यालय र दुहबी नगरपालिकाका लेखा अधिकृत दिपेन्द्र चौधरीको आर्थिक सहयोगमा भिडिओ निर्माण भएको संयाेजक सुनिल चौधरीले जानकारी दिए ।

मौलिक र परम्परागत धुम्रानाच समाजमा रहेको सकारात्मक गतिविधि, धार्मिक चित्रण, समुदायको एकता, पारिवारिक एकता, परदेश गएका श्रीमानको विछोडको विरहलगायत प्रकृतिसँगको सम्बन्ध बारे अभिनय गरी कला प्रस्तुत गरिने नृत्य रहेको थारु समुदायका अभियानकर्मी प्रदीप बास्मैत चौधरीले जानकारी दिए । 

उनका अनुसार थारु समुदायमा प्राचीनकालमा सामुहिक मनोरन्जनका लागि धुम्रानाच नचाउने चलन रहेको मानिन्छ । गाउँटोलमा कुनै शुभ कार्य तथा अवसरको आयोजनामा धुम्रानाच आयोजना गरी सामुहिक मानोरन्जन गर्ने भएकाले यो नृत्यलाई सामाजिक एकताको सन्देश वाहकका रुपमा मानिन्छ ।

received_1556409658286240