भोजपुर / सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भाद्र ७ गते शुक्रवार सार्वजनिक गरेको आ.व. २०७९–८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षणपश्चात्को अन्तिम नतिजामा भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका जिल्लाभित्रका नौ स्थानीय सरकारमध्येकै उत्कृष्ट स्थानीय सरकार बन्न सफल भएको छ ।
यो गाउँपालिकाले दश वटा सूचकमा औषत कुल ८०.२५ अङ्क प्राप्त गरेको छ भने पौवादुङ्मा गाउँपालिकाले ७९ अङ्क प्राप्त गरी दोस्रो बन्न सफल भएको छ । यस्तैगरी ट्याम्केमैयुम गाउँपालिकाले ७१.५० अङ्कका साथ तेस्रो स्थान हासिल गरेको छ । चौथोमा अरुण गाउँपालिकाले ७०.५० अङ्क ल्याएको छ भने साल्पासिलिछो गाउँपालिकाले ७०.२५ अङ्कका साथ पछ्याएको छ । त्यसपछि छैटौँमा आमचोक गाउँपालिकाले ६७.७५अङ्क प्राप्त गर्दा सातौँ हुने स्थानीय सरकारमा ६७.५० अङ्कका साथ हतुवागढी गाउँपालिका परेको छ । जिल्लाका दुई वटा नगरपालिकाको औसत अङ्क गाउँपालिकाहरूको भन्दा तल रहेको छ । षडानन्द नगरपालिकाको अङ्क ६६.७५ रहेको छ भने भोजपुर नगरपालिकाको अङ्क सबैभन्दा कम ५२.२५ रहेको छ ।
उत्कृष्ट हुने रामप्रसाद राई गाउँपालिकाले कुल दश वटा सूचकहरूमध्ये शासकीय प्रबन्धमा ८.२५, सङ्गठन तथा प्रशासनमा ६.७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा १०.५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ८.५, सेवा प्रवाहमा १३.२५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ६, सामाजिक समावेशीकरणमा ८.२५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५.७५ र सहकार्य एवम् समन्वयमा ६ अङ्क प्राप्त गरी भोजपुर जिल्लाको उत्कृष्ट स्थानीय सरकार बन्न सफल भएको हो ।
यस्तैगरी दोस्रो हुने पौवादुङ्मा गाउँपालिकाले दश वटा सूचकहरूमध्ये शासकीय प्रबन्धमा ८.५, सङ्गठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ९, सेवा प्रवाहमा १३.७५, न्यायिक कार्यसम्पादनमा ६, भौतिक पूर्वाधारमा ७.७५, सामाजिक समावेशीकरणमा ८.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६ र सहकार्य एवम् समन्वयमा ५.५ अङ्क प्राप्त गरी दोस्रो उत्कृष्ट स्थानीय सरकार बन्न सफल भएको हो ।
समग्रमा भोजपुर जिल्लामा भोजपुर नगरपालिकाको प्राप्ताङ्क सबैभन्दा कम रहेको देखिएको छ भने त्यसपछि षडानन्द नगरपालिकाको संस्थागत क्षमता मूल्याङ्कन अङ्क समेत अरू निकायहरूको भन्दा न्यून रहेको पाइएको छ । गाउँपालिकाहरूमध्ये हतुवागढी गाउँपालिकाको प्राप्त अङ्क अरू गाउँपालिकाहरूको भन्दा कम रहेको पाइएको छ ।