सुनसरी / सुनसरीको दुहबी नगरपालिका स्थित निर्माणाधिन रंगशालाको पुरानो भवनको कवाडी सामग्री जनप्रतिनिधिले नै बेचेको आरोप लागेको छ ।

सार्वजनिक सम्पतीको रुपमा रहेको पुरानो भवनबाट निस्किएको फलामजन्य कवडा सामानहरु दुहबी नगरपालिकाको ४ नं. वडाका वडाअध्यक्ष मुस्तकिम मियाले बेचेको आरोप लागेको हो ।  स्थानिय सरकार अन्तर्गत रहने दुहबी रंगशालामा अहिले नयाँ प्याराफिट निर्माणको कामको ठेक्का लगाइएको थियो ।

तर पुरानो प्याराफिट भत्काउदा निस्किएको कवाडी, टिन र काठ लगायतका सामानहरु वडाध्यक्ष मियाले कसैलाई जानकारी नदिइ बेचेर पैसा खाएको स्थानिहरुको आरोप छ । प्रकृया अनुसार उक्त कवाडी लिलामी ठेक्का लगाएर बेच्ने प्राबधान छ । तर वडाध्यक्षले झण्डै १० लाख रुपैया मुल्य बराबरको उक्त कवाडी बेचेको बताइएको छ । शुक्रबार नगरपालिकाकै सबारी साधनबाट उठाएर उक्त कवाडी वडाध्यक्षले लगेर बेचेको आरोप छ ।

स्थानियले कवाडी बेचेको बिषयमा आइतबार नगरपालिकाका मेयर र प्रशासकिय अधिकृतसँग जवाफ मागेका थिए । स्थानियहरु भेला भएर वडाध्यक्ष मियाले कुन उदेश्यले कवाडी बेचेको बिषयमा प्रश्न उठाएका थिए । जवाफमा दुहबी नगरपालिकाका प्रशासकिय अधिकृत हिमालय बरालले रगंशालामा जम्मा गरेर राखेको कवाडीका सामान उठाएर नगरपालिकामा नआएको र वडाध्यक्ष नै संलग्न भएर बेचेको बिषयमा छानबिन हुने बताउनुभयो । 

कवाडी बेचेको आरोप लागेका वडाध्यक्ष मियाले भने रगंशालाबाट उठाएको कवाडी राजस्व संकलनको लागि बेचेको दाबी गनुृभयो । तर कवाडी कहाँ लगियो, कति रकममा बेचियो र राजश्व रकम कहा जम्मा भयो भन्ने प्रश्नमा मियाले जवाफ दिन सक्नु भएन । 

स्थानियहरुका अनुसार वडाध्यक्ष मियाले उक्त कवाडी व्यक्तिगत प्रयोजनको लागि लगेको वा बेचेको आरोप लगाएका छन् । मिया अध्यक्ष रहेको वडामा नै रगंशाला अवस्थित छ ।